काठमाडौं । प्रतिनिधि सभाका दुई सांसद, नेकपाकी सानु शिवा पहाडी र कांग्रेसका सूर्यबहादुर केसीको निधन भएपछि उनीहरूको ठाउँमा जानकीदेवी राम र मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन्।
निधन भएका नेकपाकी सांसद पहाडी दलित महिला क्लष्टर र कांग्रेसका केसी खसआर्य क्लष्टरबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य बनेका थिए।
उनीहरूको ठाउँमा नेकपाकी जानकीदेवी राम र कांग्रेसका मोहन पाण्डे सांसद बन्नेछन्। जानकीदेवी सिरहाकी हुन् भने पाण्डे स्याङ्जाका हुन्। पाण्डे पहिलो संविधान सभामा स्याङजा(३ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन्।
समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा पार्टीहरूले बुझाएको बन्द सूचीका आधारमा र सम्बन्धित क्लष्टरबाटै नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। अघि सांसद बनिसकेका बाहेकको बन्दसूचीको रोलक्रममा उनीहरूको नाम भएकाले दुवै जना सांसद बन्न लागेका हुन्।
नेकपाको दलित महिलाको कोटामा धनकुमारी सुनारको नाम छ तर उनी पार्टी छोडेर गइसकेकाले जानकीदेवी सांसद बन्ने सूचीमा रहेको नेकपा पार्टी कार्यालयका सचिव इश्वरी रिजालले बताए।
उनले भने “रोलक्रम अनुसार धनकुमारी सुनारको नाम छ, तर उहाँले पार्टी परित्याग गरिसकेकाले उहाँ पछाडि भएको नाम पार्टीले पठाउने हो, जसमा जानकीदेवी रामको नाम छ ।”
पद रिक्त भएको आधिकारिक जानकारी पाएपछि निर्वाचन आयोगले दलहरूले पहिले बुझाएको बन्द सूचीबाटै अर्को व्यक्ति चयन गर्नेछ। आयोगका अनुसार पद रिक्त भएको आधिकारिक जानकारी आयोगमा गएको छैन।