मुगु । कर्णालीको हिमाली जिल्ला मुगुमा पनि 'तँ बलत्कारी होस् ?' अभियान सञ्चालनमा ल्याइएको छ ।
बलात्कार र महिला हिंसा विरुद्ध स्वतन्त्र रुपमा युवायुवतीहरुले शनिबारदेखि अभियान सञ्चाल गरेका हुन् ।
जिल्ला सदरमुकाम गमगढीको छाँयानाथ रारा नगरपालिका वडा नं १ स्थित श्री महाकाली माद्यमिक विद्यालयबाट सुरु भई सदरमुकाम गमगढी बजारका मुख्य स्थान कालिका मालिका मन्दिर र अदालत चोकमा करिब २० युवायुवती, किशोरीहरुले नृत्यसहितको मार्चपास गरेर उक्त अभियान सञ्चालनमा ल्याएका हुन् ।
कालो टिसर्ट, कालो पाइन्ट र टाउकोमा कालो पट्टी बाँधेर बलात्कार र महिला हिंसाविरुद्ध सांकेतिक प्रदर्शन गरिएको हो । प्रदर्शनीहरुले महिला हिंसा र बलात्कार विरुद्ध नबोल्ने हरेक व्यक्ती समाज बलात्कारी सरह हुने भन्दै ‘तँ होस बलात्कारी, भन्दै नारा लगाएका छन् ।
उनीहरुले मार्चपासमा दमनकारी सत्ता पुरुष प्रधान देशमा नारिहरु दबिन बाध्य भएको उजागर गरेका थिए । र्यालीमा बलात्कारीलाई फाँसी दिन नमिलेता पनि कडा कानून ल्याउनुपर्ने प्रर्दशनमा आएकी सोनी शाही ठकुरीले बताईन ।
युवतीहरुको मार्चपास सहित ¥यालीमा ‘मलाई बाँच्न मन छ मलाई बचाउ’, ‘कस्तो कानून ? कस्तो सरकार ?’, कपडा छोटो की नजर खोटो ?’, ‘सरकार देखाउ इच्छा, खोइ त महिलाको सुरक्षा ? जस्ता नारा लगाउँदै गिती शैलिमा प्लेकार्ड बोकेर प्रर्दशन गरेको जानकारी दिईन ।
कार्यक्रमको अगुवाइ गरेकी शाहीले महिला हिंसा विरुद्धको प्रत्येक घरको आवाज बुलन्द गर्न सडकमा आएको उल्लेख गरिन् । उनले अहिले पनि धेरै महिला हिंसाका घटनाहरु भएता पनि बाहिर आउन नसकेको र हिंसाहरु नरोकेका भन्दै त्यसको लागि महिलाहरु आफैं अगाडि आउनुपर्ने भनाइ उनको थियो ।
करिब एक घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो कि ?’ यो अत्याचार अब म सहन्न अब म बोल्छु अब मौन रहन्न’, ‘हत्या हिंसा बलात्कार समाजबाटै बहिष्कार’,हरेक नेपाली नारीले लक्ष्मी हैन, काली बनेर आफ्नो रक्षा गर्ने बेला आएको छ’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।