सिराह । प्रदेश २ सरकार गठन भएको तीन वर्ष हुनै लागे पनि प्रदेशको नाम र राजधानी अझै टुङ्गो लाग्न सकेको छैन ।
संघीय संरचना अनुसार प्रदेश सरकार गठन भएर काम सुरु भएको ३ वर्ष हुँदा पनि प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो नलाग्दा नागरिक पनि अलमलमा परेका छन् ।
संविधान अनुसार प्रदेशको नाम र राजधानी प्रदेश सभाको २ तिहाई बहूमतले टुङ्ग्याउन सक्छ । तर, प्रदेश २ मा कुनै पनि दलको २ तिहाई मत नभएकाले यो विषय टुङ्गिन सकेको छैन । नेकपाका सांसद शत्रुधन महतो राजधानीको विषयमा लगभग सहमति जस्तै भएपनि नामाकरणको विषयमा विवाद देखएको बताउँछन् ।
बहुमत नभएको अवस्थामा सरकारको नेतृत्व गरिरहेको समाजवादीले नेकपा वा काँग्रेसको साथमा नाम र राजधानीको विवाद टुङ्ग्याउनुपर्छ । समाजवादीले, प्रदेशको नाम मधेस प्रदेश, काँग्रेसले मिथिला भोजपुरा र नेकपाले जानकी राख्नुपर्ने अडान लिएको छ ।
नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव राजधानी जनकपुर बनाउने सर्वसम्मति घोषणा भयो । तर मधेसप्रदेश भएन भने हामी जनकपुरमा भोटिङ गर्दैनौं भनेर नेताहरूले अडान राखेपछि यो विषय टुंगिन नसकेको उहाँको भनाइ छ ।
तीन वटै दल आ आफ्नो अडानबाट पछाडी नहट्ने कारणले यो कार्यकालमा प्रदेश २ ले नाम र राजधानी दुबै पाउने सम्भावना कमजोर बनेको छ । जसलाई मुख्यमन्त्री लालबाबु राउत पनि स्वीकार गर्नुहुन्छ ।
सात प्रदेशमध्ये ५ प्रदेशको नाम र राजधानी टुङ्गिसकेको छ भने प्रदेश नम्बर १ को नाम र २ को नाम तथा राजधानीको टुङ्गो लागेको छैन ।