लमजुङ । गण्डकी प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक मायानाथ अधिकारीले परिवर्तनको वाहक मिडिया क्षेत्रको हकहित एवं उत्थानको लागि आफ्नो तहबाट पहल गर्ने बताए ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ लमजुङ शाखाको संयोजनमा मङ्गलबार बेशीशहरमा आयोजित ‘पत्रकार आचारसंहिता र कोभिडले मिडियामा पारेको प्रभावसम्बन्धी अन्तरक्रियामा सो धारणा राखे । उनले परिवर्तनको नेतृत्व राजनीतिक दलले गरेपनि मिडियाको भूमिका उल्लेखनीय रहेको, सबैको सामुहिक प्रयासबाट परिवर्तन सम्भव भएको, यसरी नै संवाद/छलफलबाट नै समस्याको पहिचान हुने भन्दे संविधान र संघीय ऐन, कानुनसँग नबाझिने गरी प्रदेश सञ्चार नीति बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
सांसद, पत्रकार हुँदैमा सबै जान्ने/सुन्ने हुन्छन् भन्ने भ्रम भएको भन्दै उहाँले निरन्तर खबरदारी, सुझाव हुनुपर्ने पत्रकारमा खोज, अनुसन्धान कमी रहेको बताए । उनले रोडम्याप, मास्टरप्लान बनाएर कमजोर प्रवृत्तिलाई निरुत्साहित गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिलका बोर्ड सदस्य दुर्गा भण्डारीले श्रमजीवी पत्रकारको रोजिरोटी खोसिएको, तमाम समस्याबीच कोभिडले थप समस्या निम्त्याएको उल्लेख गर्दै छापाकेन्द्रित प्रेस काउन्सिल ऐनले बिधुतीय सञ्चारमाध्यमलाई समेट्न नसकेको अवस्थामा मिडिया काउन्सिल ऐन छिटो बन्नुपर्ने धारणा राखे । प्राप्त फिडब्याकलाई बोर्डसमक्ष राखी नीतिगत व्यवस्थाको लागि पहल गर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिनराज कुइँकेलले जिल्लाको पत्रकारिताको अवस्थाबारे उल्लेख गर्नुहुँदै कोभिड महामारीमा हरेस नखाई फिल्डमा आएको, ८ जनामा सङ्कमण देखिएको, अर्थतन्त्र धरासायी बन्दा चरम संकटबीच काम गर्नुपरेको बताए ।
लमजुङ दर्पण दैनिकका सम्पादक एवं शाखाका पूर्व अध्यक्ष कृष्ण केसीले परिवर्तनको वाहक मिडियाको व्यवस्थापनमा सरकार चुकेको बताए । ‘काउन्सिल अभिभावक संस्था हो, पछिल्लो पाँच वर्ष काउन्सिलले धेरै राम्रो उल्लेखनीय काम गरेको छ, सिष्टम बसालेको छ तर धेरै गर्न बाँकी रहेकोे छ ।’ उनले भने । विज्ञापन केन्द्रमुखी रहेकोे अवस्थामा प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन दिने निर्णयले राहत भएको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान सङ्गीत नेपालीले यसबीच छलफल/संवादविहीन, सरोकारवालाबीच घरसल्लाह एवं भर्चुअलमार्फत् छलफल हुन नसकेको भन्दै काउन्सिलप्रति आभार व्यक्त गर्नुभयो । ‘कोभिड महामारीमा अग्रभागमा रहेर काम त ग¥यौँ, सचेतना एवं उत्साह ल्यायौँ कि ल्याएनौँ ? सूचना मात्रै बाँड्यौ कि ? समिक्षा गर्नुपर्ने र मिडियालाई खोज, अनुसन्धानमूलक बनाउनुपर्ने बेला भएको छ,’ उनले भने ।
जिल्लामा ४ वटा एफएम, ६ वटा साप्ताहिक, एकवटा दैनिक पत्रिका सञ्चालनमा छन् ।