रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौर भन्सारमा स्थानीयबासि लगातार ३ दिन देखि धर्नामा बसेका छन् ।
रौतहटको मुख्य नाका गौर भन्सार अगाडिबाट नेपाल–भारत आवत जावत गर्न दिन र पहिलेजस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै स्थानीयहरु धर्नामा बसेका हुन् ।
बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गर्नु उचित नहुने उनीहरुको भनाइ छ । गौर भन्सार बन्द भएपनि रौतहटको लक्ष्मीपुर बेलबिछवा र पश्चिममा महादेवपट्टीबाट आवागमन केही हदसम्म सञ्चालन भइरहेको उनीहरुले जनाएका छन् । तर भारतीय सुरक्षाकर्मीले मुख्य नाकाबाटै आवतजावत गर्न भन्दै अन्य नाकामा स्थानीयलाई रोक्न थालेको बताइएको छ ।
एसएसबीले रोक लगाएपछि स्थानीयले गौर भन्सारको मुख्य नाका नै खुलाउन दबाब दिएका हुन् । नागरिक समाज रौतहटको नेतृत्वमा सर्वदलिय सर्वपक्षिय टोलिले भन्सार क्षेत्रमा शुक्रबार बिरोध स्वरुप १ घन्टा धर्ना दिएका थिए ।
नागरिक समाज रौतहटका अध्यक्ष जगन्नथ प्रसाद केशरिको नेतृत्वमा प्रदेश सभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका नगर अध्यक्ष अजय गुप्ता, नेताहरु रेवन्त झा,अनिल सिंह, मोहन यादव,राम प्रताप सिंह, छोटेलाल साह राकेश झा लगयातका ब्यक्तिहरुले धर्ना दिइएका हुन् ।
कोरोना महामारिको बहाना बनाई राज्यले मधेशी नागरिकलाई दुख दिएको बताउदै धर्नामा सहभागी गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शान्तिपुर्ण रुपम गरिएको बिरोधहरु सरकारले नसुने परिस्थिती झनै असहज हुने चेतावनी दिएका छन् ।