सिमकोट । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ ।
सोमबार (आज) बिहानै देखि सदरमुकाम सिमकोट माथिका वस्तीहरुमा निन्तर हिमपात भैरहेको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिका क्षेत्रमा अत्याधिक जाडो बढेको छ । गएको तिन दिन देखि बादल लाग्ने गरेको भएपनि जिल्लाका अधिकांश क्षेत्रमा आज बिहानैदेखि हिउँ पर्न शुरु गरेको हो ।
वर्षकै पहिलो पटक परेको हिउँले सिमकोट र नाम्खा गाउँपालिकाको तापक्रम माइनस ५ भन्दा तल झरेको छ । “पहिलो पटक हिउँ परेर अहिले हामीलाई घरबाहिर निस्कनै गाह्रो भएको छ,” नाम्खा गाउँपालिकाको मुचुका छपेल लामाले भने, “हिउँ सामान्य आएको छ तर हिउँसँगै चलेको हावाले घरबाट बाहिर निस्कन नसकिने अवस्था छ ।”
लामाका अनुसार हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको छ ।
“हिउँले जुन भाँडोमा पानी राख्यो त्यही जमेर बरफ भएको छ ।” उनले थपे, “खानेपानीको पाइपमै बरफ जमेर पानी नै नआएपछि बिहान कित्लीमा पानी तताएर राखेपछि मात्रै पानी आएको हो ।”
जाडोले प्रहरी चौकी सदरमुकाम सर्यो
अत्याधिक जाडो बढेपछि उत्तरी छिमेकी मुलुक चीनसँगको सिमा सुरक्षार्थ राखिएको सुनखानी सिमा प्रहरीचौकी सदरमुकाम सिमकोट सरेको छ ।
स्थानीय तापक्रम माइनस १० भन्दा तल झरेर सहज रुपमा बस्न सक्ने अवस्था नभएपछि नाम्खा गाउँपालिका ६ लिमीको सुनखानीमा रहेको सुनखानी प्रहरी चौकीलाई जाडो महिासम्मका लागि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सिताराम विस्टले जानकारी दिए ।
“अत्याधिक जाडो बसेपछि प्रहरी चौकीमा खटिएका ससुरक्षाकर्मीलाई बस्नै नसक्ने स्थिती भयो”, उनले भने, “प्रदेशर गृहको अनुमती लिएर हामीले अहिले उक्त प्रहरी चौकी सदरमुकाम सारेका हौं ।”
बर्सेनि जेठ महिनामा सीमा सुरक्षा प्रहरी चौकी नाम्खा गाउँपालिका– ६ लिमीको सुनखानी बस्ने गरे पनि चिसो सुरु भएसँगै जिल्ला फिर्ता भएको प्रहरी निरीक्षकले जानकारी दिए ।
प्रहरी चौकीबाट सीमा क्षेत्र टाढा भएकाले सहजै रूपमा गस्ती गर्न नसक्ने र प्रहरी चौकी पनि त्यति व्यवस्थित नभएकाले जाडोमा कष्टकर रुपमा बस्नु भन्दा प्रहरी चौकीलाई सार्दा उपयुक्त हुने देखेर आफूहरुले तत्कालका लाग चौकीलाई अस्थायी रुपमा सिमकोट सार्न सहमती दिएको नाख ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
सुनखानी प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भए पनि अहिले सातजना प्रहरी मात्रै कार्यरत थिए ।