काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा र हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो भने सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।
मौशममा आएको परिवर्तनका कारण देशका हिमाली तथा उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।
कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र उत्तरी गोरखा जिल्लामा हिउँ परेको छ । लुम्बिनी प्रदेशको पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।
मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सबै वस्ती र सदरमुकाम सिमकोटका प्राय वस्तीहरुमा हिमपातले तापक्रम माइनस ५ भन्दा तल झरेको छ । अत्याधिक जाडो बढेपछि स्थानीय जनजीवन प्रभावित बनेको छ ।
स्थानीय तापक्रम माइनस भन्दा तल झरेपछि खानेपानीका धारोमै पानी जम्न थालेको छ । हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा हिजो दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् ।