काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेताहरुसँग छुट्टाछुट्टै तयारी गरेका छन् ।
दिउँसो १ बजे बस्ने तय भएको सचिवालय बैठकका लागि ओली र प्रचण्डले बिहानैदेखि भेटवार्ता गरेका छन् ।
गएराति नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग बालुवाटारमा र राति नै शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका ओलीले बिहान फेरि आफू निकट नेताहरुसँग परामर्स गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता सुवास नेम्बाङसँग छलफल गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार आजको सचिवालय बैठकमा उपस्थित भएर सार्नुपर्नेमा ओली लगभग सहमत भएका छन् । अब ओली सचिवालय बैठकमा सहभागी हुने सम्भावना बढेको ती नेताको भनाइ छ ।
तीन नेतासँग परामर्स गरेका प्रधानमन्त्री ओलीले शितिलनिवाश पुगेर राष्ट्रपतिलाई फेरि भेटेका छन् ।
त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि बिहानदेखि नेताहरुसँग परामर्स थालेका छन् । खुमलटारमा प्रचण्डले नेताहरु हरिबोल गजुरेल, देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीसँग भेटवार्ता गरेका छन् । वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि प्रचण्डले निवासमै बैठकको तयारीका विषयमा छलफल गरेका स्रोतको भनाइ छ ।
आजको बैठकमा ओलीले उपस्थित नहुने बताएका थिए भने प्रचण्डलगायतका बहुमत सदस्यले तोकिएकै समयमा बैठक बस्ने जनाएका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले निर्धारित समयमा सचिवालय बैठक बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।