राजु बास्कोटा
काडमाडौं । सरकारले विदेशी च्यानलको प्रसारण विज्ञापनरहित (क्लिन फिड) हुनुपर्ने नीति अवलम्बन गरेको एक महीनामा नै टेलिभिजनलाई ग्राहक टिकाउने चुनौती थपिएको छ। नेपाली विज्ञापन बजार बढ्ने, ग्राहकले क्लिन फिडमा टिभी हेर्न पाउने संस्कृतिको प्रवर्द्धन हुने भनिएपनि त्यसको नकारात्मक असर पर्न थालेको भन्दै नेपाली केबल टेलिभिजन व्यवसायी आत्तिन थालेका छन्।
सरकारले एक वर्षको समयावधि दिएर ७ कात्तिकदेखि विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) गराएपछि नेपाली दर्शकले रूचाएका अधिकांश विदेशी च्यालन हेर्न पाएका छैनन्। क्लिन फिड लागू हुँदा एकैपटक १२० भन्दा बढी च्यानल बन्द भए। अहिले पनि केही च्यानल क्लिन फिडमा आएपनि बीबीसी, सीएनएन, डिस्कभरी, स्टारसहितबाट आउने च्यालनहरू बन्द छन्।
विज्ञापन ९नियमन गर्ने० ऐन २०७६ को दफा ६ ९१० अनुसार नेपालमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरेका संस्थाहरूले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ। यो व्यवस्थालाई पालना नगर्ने च्यानल जबसम्म क्लिन फिड भएर आउँदैनन्, तबसम्म बन्द नै हुने छन्। सरकारले अनिवार्य कार्यान्वयन गराउने अवस्थामा पुगिसक्दा पनि व्यवसायीले सरकारले दिएको समयसीमालाई बेवास्ता गरेका कारण सेवाग्राहीले अधिकांश विदेशी च्यानल हेर्न पाइरहेका छैनन्।
प्रविधिको जमानामा सरकारले क्लिन फिडलाई राष्ट्रियताको अजेन्डा बनाउँदा र अन्य विकल्पबाट ग्राहक आकर्षित भइरहेको पाटोलाई बेवास्ता गर्दा सबैभन्दा ठूलो मारमा परेको नेपाली केबल टेलिभिजन व्यवसायीहरू बताउँछन्।
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा सरकारले १० वर्ष अगाडि लागू गर्नुपर्ने यस्तो व्यवस्था अहिले लागू गर्दा व्यवसायीको अर्बौैंको लगानी जोखिममा परेको बताउँछन्। उनी भन्छन्, ‘‘व्यवसायीले यसअघि सेट(टप बक्स लगाएर मात्रै टिभी हेर्नुपर्ने व्यवस्था गरेका कारण एउटै बक्समा रू। १५०० देखि २००० सम्म हालेर किनिएको थियो। त्यो बक्स उपभोक्तालाई टिभी रिचार्जबाट नियमित पैसा आउँछ भनेर रू. ५०० देख १००० मा नै उपलब्ध गराइएको थियो।’’ तर, त्यो नसकिँदै क्लिन फिड लगाउँदा ग्राहक अन्तै ‘डाइभर्ट’ भएर अर्बौंको लगानी खेर जाने अवस्थामा पुगेको शर्मा बताउँछन्।
केबल टेलिभिजनले दिने र ग्राहकले रुचाएका च्यानल अझै आउन सकेको छैन भने व्यवसायीको पनि संचालन खर्च नै धान्न नसक्ने अवस्था आउने देखिएको शर्मा बताउँछन्। शर्माका अनुसार सूचना प्रविधिको युगमा टिभीबाट मात्रै ग्राहकले च्यानल हेर्छन भन्ने छैन।
अहिले विदेशी च्यानल मोबाइलमा ओभर दी टप ९ओटीटी०, फेसबुकमा २०औं वटा बुस्ट भएका साइट हुने, नेटफ्लिक्स, हट स्टार, अमेजनसहतिका अनलाइनमार्फत च्यानल आइरहेका छन्। ती च्यानल हुण्डिमार्फत् कारोबार भएर आइरहेकोले पनि नेपाली दर्शक केबल टेलिभिजन छोडेर अन्तै मोडिन थालेको शर्माको भनाइ छ। सरकारले अब पनि क्लिन फिड भन्ने र डाउनलिंक गरेर मात्रै च्यानल देखाउन पाइने भनेर बसिरहे टेलिभिजन बजार नै धरासायी हुने शर्माको चेतावनी छ।
शर्माका अनुसार नेपालमा टेलिभिजनका ग्राहक ४० लाख माथि पुगिसकेकोमा क्लिन फिड लागू भएपछि त्यो संख्या घटेर २७ लाखमा झरेको छ। ग्राहकहरूले टेलिभिजन रिचार्ज गर्न समेत छोड्दै गएका छन्। टेलिभिजनमा एक त कम च्यानल आउने, अर्को रोजेको हेर्न नपाएपछि ग्राहकले रिचार्ज गर्न छोड्दै ओटीटी र विदेशी एपतर्फ लागेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउँछन्।
अवैध भारतीय डीटीएचतर्फ नेपाली ग्राहक
नेपाली दर्शकले केबल टेलिभिजनबाट विदेशी च्यानल हेर्न नपाएपछि अवैध विदेशी डीटीएचतर्फ जान थालेका छन्। तराई क्षेत्रमा निर्वाध रूपमा सञ्चालन हुने भारतीय डीटीएचको प्रयोग बढ्न थालेको छ।
नेपालभित्रै भएको अवैधानिक च्यानल र विदेशी एपलाई रोक्न नसक्दा टेलिभिजन बजारमै नकारात्मक असर पुगेको व्यवसायीहरू बताउँछन्। पछिल्लो अवस्थाका कारण व्यवसायीले डाउनलिंक अनुमित खारेज गर्नुपर्ने माग राखेका छन्। होइन भने आईपी टिभी र ओटीटीमार्फत् टिभी हेर्न पाउने सुविधालाई हटाउन माग गरिएको केबल टेलिभिज महासंघका अध्यक्ष शर्मा बताउँछन्।
नेपालमा टेलिभिजनका ग्राहक ४० लाख माथि पुगिसकेकोमा क्लिन फिड लागू भएपछि त्यो संख्या घटेर २७ लाखमा झरेको छ भने ग्राहकहरूले टेलिभिजन रिचार्ज गर्न समेत छोड्दै गएका छन्।
एउटा प्रविधिको लाइसेन्सले अर्को चलाउन नपाउने व्यवस्था नहुँदा नेपालमै सेवा प्रदायकले अवैधानिक रूपमा सेवा सञ्चालन गरेको भनेर नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सञ्चार मन्त्रालयसमक्ष उजुरी नै दिएको छ। यसलाई सकाकारले सुनुवाई गर्न नसक्दा अबैध टिभी च्यानल रोकिएका छैनन् भने विदेशी ओटीटीको प्रयोग बढेको छ। शर्माका अनुसार जसले गर्दा नेपाललाई न राजश्व आउँछ, न त स्वस्थ्य प्रतिस्पर्धामा नेपाली व्यवसायी समावेश हुन पाउँछन्। बरु यसले नेपाली टिभीको बजारलाई नै कमजोर बनाउने र यसको आधार सरकारले नै दिइरहेको शर्माको दाबी छ।
ओटीटी र विदेशी एपलाई सहजै प्रयोग गर्न दिने हो भने केबल टेलिभिजन व्यवसायीका लागि मात्रै डाउनलिंक पोलिसी लाग्ने व्यवस्था खारेज हुनुपर्ने उनीहरूको माग छ। अहिले आईपी टिभीका रूपमा डिशहोम, वर्ल्डलिंक, नेटटिभी, प्रभुटिभी पनि छन्। यी टिभीले आईपी टिभीको लाइसेन्स लिएका भएपनि एप प्रयोग गरेर सेवा दिइरहेका छन्। यिनीहरूले इन्टरनेट बेच्ने र टिभीको पैसा त्यतैबाट उठाउने गर्छन्। नेपालभित्र नेटफ्लिक्स, अमेजन, हटस्टारसहितका विदेशी ओटीटीबाट हेर्न पाइने हुँदा केबल टिभी थप मर्कामा पर्ने, राजश्व संकलन पनि नहुने र नेपाली बजारले अपेक्षा गरे अनुसारको विज्ञापनको बजार पनि नहुने सम्बन्धित क्षेत्रका व्यवसायी बताउँछन्।
डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य सरकारले नै टिभी च्यानल केबलबाट मात्रै नभएर आईपी टिभीबाट पनि आउँछ भन्ने विषयतर्फ ध्यान दिन नसक्दा क्लिन फिड लगाएको एक महीनामा नै समस्या देखिएको बताउँछन्। विदेशी च्यालन बन्द हुँदा भारतीय डीटीएचको प्रयोग बढ्न थालेको, भएकै ग्राहक पनि घट्दै गएको एक महीनाको तथ्यांकले देखाएको डिशसहोमको तर्क छ। एक महीनाको अवस्था हेर्दा यो समयमा रिचार्ज गर्नुपर्ने धेरै ग्राहकले टिभी रिचार्ज गरेका छैनन्। ग्राहक सन्तुष्ट नभएका कारण समग्र केवल टिभीको उद्योगमा करीब २५ प्रतिशतले ग्राहक घटेको डिशहोमका प्रबन्ध निर्देशक आचार्यको अनुमान छ।
च्यानल कम, शुल्क बढी
टेलिभिजन च्यानलले विदेशी च्यानल कटौती गरेर ग्राहक भड्किरहेकै अवस्थामा संचालन खर्च धान्न गाह्रो हुने, महंगो प्रविधिमा जानुपर्ने र नयाँ इक्युपमेन्ट जडान गर्नुपर्ने लगायतका कारणले लागत बढ्ने भन्दै शुल्क पनि बढाउने भएका छन्।
विज्ञापनबाट पैसा नआउने भएपछि विज्ञापनरहितका सःशुल्क च्यानलले शुल्क पनि बढाउने भएका हुन्। विदेशी च्यानलले नेपाली व्यवसायीलाई शुल्क बढाएपछि त्यो रकम ग्राहकबाटै लिनुपर्ने भएकोले पनि थप शुल्कको प्रस्ताव गरिएको नेपाली केबल टेलिभिजन व्यवसायीको भनाइ छ।
टेलिभिजन प्रसारकले दिने च्यानलको संख्या घटेर आउने, विदेशी च्यानल कम आउने, निःशुल्क च्यानल बन्द भएको र सःशुल्क च्यानल पनि सबैले क्लिन फिड दिन नसकेका कारण यो व्यवसायलाई नै नकारात्मक असर पर्ने बुझाई आचार्यको छ।
कम्तिमा दुई वर्षको धैर्यता चाहिन्छ
नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल डीटीएच र केबल टेलिभिजन व्यवसायी आत्तिएको मात्रै बताउँछन्। उनी नेपालमा भर्खर २६ प्रतिशतसम्ममा मात्रै पुगेको इन्टरनेटको बजारले आईपी टिभी र ओटीटीलाई बढावा दिन्छ भन्ने तर्क मान्न तयार छैनन्। अहिले पनि ७५ प्रतिशत इन्टरनेट प्रयोगकर्ता मोबाइलकै ग्राहक छन्। मोबाइलबाट टिभी नहेरिने भएकोले पनि फिक्स इन्टरनेट नै खोज्नुपर्ने रिजालको भनाइ छ।
व्यवसायीले कम्तिमा दुई वर्ष धैर्य गर्न सक्यो भने विज्ञापन नीतिले भनेजस्तै र नेपाली बजारले खोजेजस्तै विज्ञापन आउने रिजालको दाबी छ। उनका अनुसार एक महीनामा नै विदेशी च्यानल सबै आइसक्ने हुँदैन। विदेशी विज्ञापन पनि तत्कालनै नेपाली बजारलाई दृष्टिगत गरेर नआउने हुँदा एक वर्ष भित्रमा क्लिन फिडको प्रभाव देखिने र दुई वर्ष भित्रमा अहिलेको विज्ञापन बजार दोब्बर हुन्छ।
नेपालकै टेलिभिजनले डबिङ विज्ञापन बजाइरहेका छन् भने विज्ञापन बोर्डले पनि पूर्णता पाएको छैन। सरकारले भर्खरै विज्ञापन बोर्डलाई सुझाव दिने समिति बनाएकोले डीटीएच र केबल व्यवसायीले गुनासो गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने पनि विज्ञापन संघको भनाइ छ।
विज्ञापन बोर्डले नियमन नगरेसम्म क्लिन फिडको प्रभाव नदेखिने हुँदा सबै व्यवसायी र मिडियाको सहयोग भएको खण्डमा मात्रै यो क्षेत्रले सकारात्मक गति लिने विज्ञापन संघका अध्यक्ष रिजाल बताउँछन्।
साभार हिमालखबर