काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउने प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताएका छन्।
सोमबार आफूलाई भेट्न पुगेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग कुरा गर्दै अध्यक्ष दाहालले १३ मंसिरको सचिवालय बैठकमा ओलीले पेश गर्ने राजनीतिक प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्ने बताएका हुन्।
“उहाँको प्रस्ताव कस्तो आउँछ। त्यसमा भर पर्छ। हामी एकताकै पक्षमा छौं। मैले एकताका लागि धेरैपटक हदैसम्मको लचकता अपनाएको साथीहरूलाई थाहै छ”, भेटमा दाहालले भनेको उदृत गर्दै नेता रायमाझीले भने।
दाहालले अहिले आफूले चाहेर मात्रै नहुने र ओलीले समस्या निकालेकाले समाधान पनि ओलीकै हातमा रहेको बताएका थिए। ओलीले ल्याउने राजनीतिक प्रस्तावमाथि सचिवालयमा व्यवस्थित छलफल भए पार्टीलाई फुटबाट जोगाउन सकिने दाहालले सुनाएका थिए।
उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीले सत्ता साझेदारीको प्रस्ताव गरेका समाचार बाहिर आएको भन्दै यसले पार्टीमा झन् समस्या निम्तिने बताएका थिए।
भेटमा आफूहरूले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने सुझाव दिएको नेता रायमाझीले बताए। तर, अहिले एकता जोगाउनु नै महत्वपूर्ण भएकाले यसतर्फ शीर्ष नेताहरू सचेत हुनुपर्ने सुझाव दिइएको रायमाझीले बताए।
“अहिले एकतालाई नै केन्द्रविन्दुमा राखेर बहस, छलफल गर्ने हो। प्रस्ताव आउँदैमा कोहीपनि आत्तिनु हुँदैन। यसलाई व्यवस्थित छलफल गरेर समाधान निकाल्नुपर्छ। एकताबाट भाग्नु हुँँदैन भनेका छौं”, नेता रायमाझीले दाहालसँगको भेटबारे सुनाए।
नेता रायमाझी र गजुरेलले साझा प्रस्तावसहित अघि बढ्न सुझाएपनि दाहालले अहिलेकै अवस्थामा साझा प्रस्ताव आउने सम्भावना नरहेको जवाफ दिएका थिए।
अध्यक्ष दाहालले २८ कात्तिकको केन्द्रीय सचिवालय बैठकमा एकल राजनीतिक प्रस्ताव पेश गरेका थिए। जसमा प्रधानमन्त्री समेत रहेका ओलीमाथि संगीन आरोप लगाएको छ। जसका कारण नेकपाभित्रको विवाद झन् पेचिलो बनेको छ।
त्यसपछि ३ मंसिरमा बसेको सचिवालय बैठकमा ओलीले दाहालको प्रस्तावको जवाफमा अर्को प्रस्ताव पेश गर्न भन्दै १० दिनको समय मागेका थिए। उनले आफूलाई लगाएका आरोप पुष्टी भए दुवै पदबाट राजीनामा दिने र आरोप पुष्टी नभए दाहाल जवाफदेही हुनुपर्ने बताएका थिए।
नेकपाको सचिवालय बैठक १३ मंसिरका लागि तय गरिएको छ। सोही बैठकमा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने र दुवै प्रस्तावमाथि छलफल हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।