सागर परियार
जुम्ला । जिल्लाका विभिन्न स्थानमा पाईने अर्ग्यानिक कृषि जन्य उत्पादनको ‘जुम्ला ब्रान्ड’ तयार पारिने भएको छ ।
जुम्ली अर्ग्यानिक कृषि बस्तुको झल्काउने लोगो निर्धारण गरी ‘जुम्ला ब्रान्ड’ तयार गर्न लागिएको हो । अर्ग्यानिक जिल्ला घोषणा गरेको वर्षौँपछि बल्ल जुम्ला ब्रान्ड तयार हुन लागेका छ । नेपाली उपभोक्ताहरूमा दिन प्रतिदिन जुम्ली अर्ग्यानिक बस्तुको माग बढ्दो छ । तर अन्य जिल्लामा उत्पादित बस्तुलाई जुम्लाको नाम बेचेर विक्री भइरहेको पाइएको छ । जसले गर्दा जुम्लाको अर्ग्यानिक पहिचान गुम्ने खतरा बढेको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्ली अर्ग्यानिक उत्पादनको बजारीकरण तथा पहिचान कायम राख्न ‘जुम्ला ब्रान्ड’ तयार गर्न लागिएको बताए । “जुम्ली अर्ग्यानिक बस्तु चिनाउने खालको लोगो निर्धारणका लागि सूचना आह्वान गरेका छौं', उनले भने, ‘जुम्ला ब्रान्ड’ तयार भए पश्चात् जुम्ली अर्ग्यानिक स्याउ, जुम्लाका सबै कृषि वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने छन् ।”
स्याउका चाना, कालो, रातो, सेतो र माले सिमी, मार्सी चामल, कागुनो र चिनोको चामल, घत, मास, मुगी मास, सेतो, कालो भट्ट, फापरको पिठो, लोकल गहुँ, जौ, कोदाको पिठोलगायत दर्जनौँ जुम्ली अर्ग्यानिक कृषि बस्तुको ब्रान्डीङ गर्ने तयारी भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
अर्ग्यानिक कृषि वस्तुको पहिचान झल्काउने ‘जुम्ला तथा कर्णाली ब्रान्ड’ लोगो निर्धारणका लागि १५ दिने सूचना जारी भएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार १५ दिनभित्र उत्कृष्ट तथा अर्थपूर्ण ‘जुम्ला ब्रान्ड’ झल्काउने लोगो डिजाइनकर्तालाई पुरस्कृत समेत गरिने छ ।
‘जुम्ला ब्रान्ड’ तयार नगरेकै कारण अर्ग्यानिक बस्तुको बजारीकरणमा चुनौती थियो । जुम्लाको नाम बेचेर राष्ट्रिय बजारमा अन्य जिल्लाको उत्पादन बिक्री हुँदा जुम्ली किसान मारमा परेका छन् । धेरै पटक बहस तथा छलफल भयो । तर ढिलै भए पनि ‘जुम्ला ब्रान्ड’ तयार सुरुवात भएको प्रति अर्ग्यानिक बस्तु व्यापारी अर्जुन बुढाले जानकारी दिए । व्यापारी बुढाले भने,“‘जुम्ला ब्रान्ड’ तयार नहुँदा नपाक्दै स्याउ लिनु पर्ने, चामल सिमीले बजार नपाउने समस्या थियो । बजारमा बिक्री नहुने चिन्ताले हतारमा जुम्ली उत्पादन बजारमा लिइन्थ्यो ।” बुढाले ‘जुम्ला ब्रान्ड’ तयार भएपछि अर्ग्यानिक बस्तुको बजारीकरण ढुक्क रुपमा गर्न मिल्ने भन्दै खुसी व्यक्त गरे ।
जुम्लाको अर्ग्यानिक कृषि उत्पादनलाई तयार हुन लागेको ‘जुम्ला ब्रान्ड’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि टेवा पुराउने उनको विश्वास छ ।
अबको एक महिनाभित्र जुम्ली अर्ग्यानिक कृषि वस्तुको पहिचान झल्काउने लोगो सहितको ‘जुम्ला ब्रान्ड’ सार्वजनिक गरिने भएको छ । अहिले बजारका विभिन्न कोसेली घरमा बिना ब्रान्डका कृषि उत्पादन विक्रीका लागि राखिएका छन् ।