सर्लाही । निकै मुस्किलले लामो समयसम्म शौचालय निर्माणको अभियान चलाएर खुला दिसामुक्त घोषणा गरिएको सर्लाही जिल्लामा सार्वजनिक शौचालयको अभाव छ ।
जिल्लाका अधिकांश स्थानमा सार्वजनिक शौचालय छैनन् भने भएको स्थानमा राम्रोसँग प्रयोग र पानीको व्यवस्था छैन । सबै जिल्लाबासीको घरमा शौचालय निर्माण भएपछि सर्लाहीलाई खुला दिसामुक्त त घोषणा गरियो तर अहिले सबैले शौचालय प्रयोग गर्दैनन् ।
सार्वजनिक शौचालय त बनाइएकै छैन । भएका एक/दुई ठाउँका सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने अवस्थामै छैनन् । सर्लाहीको कविलासी नगरपालिका हेमपुरका शिक्षक भाग्यनाराण मिश्र विद्यालय बाहेक बाहिर सार्वजनिक शौचालयको ठूलो अभाव रहेको बताउन्छन् ।
जिल्ला सदरमुकाम मलंगवास्थित बसपार्क, लालबन्दीस्थित बजार बाहेक अन्य केही ठाउँमा रहेका सार्वजनिक शौचालय प्रयोगमा छैनन् । नयाँ बनाउन स्थानीय तह र अन्य निकायले चासो दिएका छैनन् । मलङ्गवा निवासी नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी जिल्लामा झण्डै आधाजसो जनसंख्या अहिले पनि शौचालयको पहँुच बाहिर रहेको तर्क गर्छन् ।
शौचालयको प्रयोग बढाउन सम्वन्धित निकायबाट बेवास्ता गरिएको चौधरीको भनाई छ । सार्वजनिक शौचालय निर्माण गर्न सहज भएपनि प्रयोगमा ल्याउन निकै चूनौतिपूर्ण रहेको स्थानीय सरकारका जनप्रतिनिधीको भनाई छ ।
हरिवन नगरपालिकाले गतवर्ष घुम्ती सार्वजनिक शौचालय प्रयोगमा ल्यायो, तर सञ्चालन गर्न नसकेर अहिले थन्काइको छ । घोषणा गर्नकै लागि घोषणा गरिएको खुला दिसामुक्त अभियान अहिले उपलब्धीहिन जस्तो देखिएको छ । सार्वजनिक शौचालय निर्माण, पानीको उचित व्यवस्थापन र हरेक नागरिकलाई सचेत बनाउन सके खुला दिसामुक्त घोषणाले सार्थकता पाउने छ ।