ऐजेन्सी । भर्खरै निर्वाचित भएका अमेरिकी अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाको प्रशासन चलाउने नयाँ टिम निर्माण गरेका छन् ।
गएको ३ नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनको औपचारिक परिणाम घोषणा १४ डिसेम्बरमा हुँदैछ। डेमोक्र्याट उम्मेद्वार जो बाइडेन राष्ट्रपति निर्वाचित हुने पक्कापक्की छ। त्यसअघि नै उनी आफ्नो टीम बनाउन थालेका छन्।
उनले आगामी २० जनवरीदेखि कार्यभार सम्हाल्ने छन्। उनको अस्थायी टीमले एक प्रेस रिलिज जारी गरेर आफ्ना सहयोगीहरुबारे जानकारी दिएको छ। उनले टीममा सामेल गरेका अधिकांश यसअघि ओबामा प्रशासनमा काम गरिसकेका व्यक्ति छन्।
बाराक ओबामाको दोस्रो कार्यकालमा विदेश मन्त्री रहेका जोन केरीले जलवायु परिवर्तनसँग सम्बन्धित विभाग सम्हाल्ने भएका छन्। जोन केरीले सन् २०१५ मा अमेरिकी राष्ट्रपतिको प्रतिनिधिका रुपमा पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गरेका थिए। तर, ट्रम्पले उक्त सम्झौताबाट हट्ने निर्णय गरेका थिए। केरी सन् २००४ मा राष्ट्रपति उम्मेद्वार पनि थिए। तर, जर्ज डब्लु बुशले उनलाई पराजित गरेका थिए।
लामो समयदेखि बाइडेनको सहयोगी रहेका एन्टनी ब्लिन्केन विदेश मन्त्री हुनेछन्। ५८ वर्षीय ब्लिन्केन लामो समयदेखि बाइडेनका सल्लाहकार थिए। उनी ओबामा प्रशासनमा उपविदेशमन्त्री तथा उपराष्ट्रिय सुरक्षा सल्लाहकार थिए। त्यसबखत बाइडेन उपराष्ट्रपति थिए।
त्यस्तै अवरिल हेन्स नेशनल इन्टेलिजेन्स विभाग सम्हाल्ने पहिलो महिला बन्ने भएकी छिन्। अलेजान्द्रो मायोरकासलाई गृह सुरक्षा विभागको सचिवमा छानिएका छ। यो पदका लागि छानिने उनी पहिलो ल्याटिन मूलकी नागरिक हुन्।
जेक सुलिवन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार टीममा हुनेछन्। उनी ओबामाको दोस्रो कार्यकालमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। त्यस्तै लिन्डा थामस–ग्रिनफिल्डलाई संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत नियुक्त गरिने भएको छ। उनी सन् २०१३ देखि २०१७ सम्म अफ्रिकी मामिला हेर्ने उप विदेशमन्त्री थिए।
यसअघि नै बाइडेनले लामो समयदेखिका आफ्ना सल्लाहकार रहेका रोन क्लैनलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ छनौट गरेका थिए। सोमबार टीम घोषणा गरेपछि बाइडेनले भनेका छन्, “मलाई पहिलो दिनदेखि नै यस्तो टीमको जरुरी छ कि अमेरिकालाई फेरि शीर्षस्थानमा फिर्ता ल्याइयोस्। जुन सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेका छौँ, त्यसका लागि तयार होस्। र हाम्रो सुरक्षा, समृद्धि र मूल्यलाई अगाडि लिएर जाओस्।”