रामकुमार शाही
काठमाडौं । फूटको संघारमा पुगेको नेकपाभित्रको शक्ति संघर्ष १३ मंसिरको सचिवालय बैठकतर्फ केन्द्रित भइरहँदा दुवै समूह सघन तयारीमा जुटेका छन्। तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालको प्रस्तावको ‘काउन्टर’मा ल्याउने प्रस्तावमै अब नेकपाको अगाडिको यात्रा निर्भर हुने देखिन्छ।
फुटको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अर्थपूर्ण बैठकका रुपमा हेरिएको केन्द्रीय सचिवालय बैठक १३ मंसिरमा बस्दैछ। अर्थपूर्ण यसकारण कि त्यही बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको आफूमाथि लगाइएका गम्भीर आरोपसहितको प्रस्तावको जवाफमा अर्को प्रस्ताव पेश गर्नेछन्।
यही बैठकलाई केन्द्रमा राखेर पार्टीभित्रका दुवै समूह सघन आन्तरिक तयारीमा जुटेका छन्। ओलीलाई दाहालको प्रस्तावको जवाफमा अर्को प्रस्ताव लेख्न १० दिनको समय दिएको ३ मंसिरको सचिवालय बैठकले १३ मंसीरमा सचिवालयको अर्को बैठक तोक्दै १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटीको बैठकको मितिसमेत तय गरेको थियो। त्यसयता बुधबार (१० मंसिर) सम्म नेकपाभित्र के के भए ? अनि दुवै पक्ष के कस्ता तयारी गरिरहेका छन् ? हामीले भित्र के के भयो ? १३ मंसिरको बैठकका लागि कस्तो तयारी हुँदैछ ? नेकपाभित्र केही निकै रोचक घटनाक्रम विकास भइरहेको देखिन्छ।
ओलीको पहिलो प्रस्ताव– माधव अध्यक्ष, शंकर महासचिव
नेकपाभित्र जबजब संकट आउँछ, प्रधानमन्त्री ओलीले पूर्वएमाले पंक्ति एक ठाउँ उभिनुपर्ने प्रस्ताव अगाडि सारिहाल्छन्। यसपटक आफू साँच्चिकै अप्ठेरोमा परेपछि ओलीले फेरि त्यस्तै प्रस्ताव अघि सारेका छन्। तर, यसपालिको प्रस्ताव धेरै हिसाबले फरक छ।
यसपालि कार्यकारी अध्यक्ष दाहालसँग गठबन्धन गरेर आफूविरुद्धको मोर्चामा सशक्त भूमिका वहन गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बन्न ओलीले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल अध्यक्ष बन्ने भए आफू अध्यक्ष छोड्न तयार गरेको सन्देशसहित आफूनिकट नेताहरुलाई कोटेश्वर पठाएका छन्।
त्यो के भने यसपालि कार्यकारी अध्यक्ष दाहालसँग गठबन्धन गरेर आफूविरुद्धको मोर्चामा सशक्त भूमिका वहन गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बन्न ओलीले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल अध्यक्ष बन्ने भए आफू अध्यक्ष छोड्न तयार गरेको सन्देशसहित आफूनिकट नेताहरुलाई कोटेश्वर पठाएका छन्।
पूर्वएमालेहरु एक ठाउँ उभिनुपर्ने र त्यसो हुँदा जनताको बुदलीय जनवादको रक्षा हुने भन्दै नेपाललाई नेकपाको प्रथम अध्यक्ष बन्न ओलीले पठाएको प्रस्ताव लिएर केही दिन पहिले कोटेश्वर पुगेका नेताहरूले नेपाललाई प्रथम अध्यक्ष बन्न आग्रह मात्र गरेनन्, स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी महासचिव बनाएर जाने योजना पनि सुनाएका थिए।
“मलाई ओलीजीको ठाउँमा प्रथम अध्यक्ष बन्ने र शंकरजीलाई महासचिव बनाउने, त्यसो हुँदा नेतृत्व हस्तान्तरणको सन्देश जाने र जबजको पनि रक्षा हुने भन्दै पूर्वएमालेको समीकरण बनाएर जाऔं भन्ने प्रस्ताव आएका छन्, तर कमिटी बाहिरबाट आउने यी प्रस्ताव मान्न म तयार छैन”, मंगलबार आफूलाई भेट्न पुगेका केही नेतालाई नेता नेपालले सुनाएका थिए। कोटेश्वर पुगेका ती नेताका अनुसार नेपालले अहिले यस्तो प्रस्ताव मान्दा कार्यकारी अध्यक्ष दाहालललाई धोका हुने र आफूमाथि पदलोलुपको आरोप लाग्ने भएकाले बालुवाटारको प्रस्ताव स्वीकार नगर्ने बताएका थिए। “म साथीहरूका अगाडि मास्क लगाएर हिंड्नु पर्नेगरी अगाडि बढ्नु रु त्यो सम्भव छैन”, नेपालले मंगलबार आफूनिकट नेताहरुलाई कोटेश्वरमा सुनाएको उद्धृत गर्दै ती नेताले भने।
ओलीको दोस्रो प्रस्ताव– माधव नेकपाका संयोजक
बालुवाटारको सन्देश लिएर कोटेश्वर पुगेका ओलीनिकट नेताहरूले नेकपाको केन्द्रीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाउने, अध्यक्षद्वय ओली र दाहाल सदस्य बन्ने तथा नेपाल त्यसको संयोजक बन्ने प्रस्ताव राखेका थिए।
प्रथम अध्यक्ष बन्न गरेको प्रस्ताव स्वीकार नगरेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई नेकपाको संयोजक बन्न अर्को प्रस्ताव गरेका छन्। बालुवाटारको सन्देश लिएर कोटेश्वर पुगेका ओलीनिकट नेताहरूले नेकपाको केन्द्रीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाउने, अध्यक्षद्वय ओली र दाहाल सदस्य बन्ने तथा नेपाल त्यसको संयोजक बन्ने प्रस्ताव राखेका थिए।
तर, नेपालले यो प्रस्ताव पनि स्वीकार नगरेको उनीनिकट स्थायी कमिटीका एक सदस्यले हिमालखबरलाई बताए। ती नेताका अनुसार नेपालले जे प्रस्ताव ल्याए पनि बैठकमा ल्याउन बालुवाटारको सन्देश बोकेर आउने नेताहरुलाई भनेका थिए। “ओलीजीले राजीनामा दिने हो वा अरु जे जे प्रस्ताव ल्याउने हो, बैठकमै ल्याउनुपर्छ। को अध्यक्ष बन्ने वा कसलाई महासचिव बनाउने हो भन्नेबारे छलफल गर्नुपर्यो भने पार्टी कमिटीमै छलफल हुन्छ, कमिटीबाटै निर्णय हुन्छ”, नेपालनिकट ती नेताले उनले दिएको जवाफ उद्धृत गर्दै सुनाए।
दाहाललाई एकल अध्यक्षको प्रस्ताव
गएको २८ कात्तिकको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई आरोपित गर्दै एकल प्रस्ताव पेश गरेका नेकपाका कार्यकारी अध्यक्ष दाहाललाई अब पार्टीको एकल एकल अध्यक्ष बन्न अर्को प्रस्ताव गरिएको छ। यो प्रस्ताव प्रधानमन्त्री ओलीले सिधै गरेका भने होइनन्। राष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेकपाका नेताहरूले दाहालसमक्ष यो प्रस्ताव गरेको नेकपाको उच्च स्रोत बताउँछ।
गएको २८ कात्तिकको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई आरोपित गर्दै एकल प्रस्ताव पेश गरेका नेकपाका कार्यकारी अध्यक्ष दाहाललाई अब पार्टीको एकल एकल अध्यक्ष बन्न अर्को प्रस्ताव गरिएको छ।
“विगतमा जे जस्तो भए पनि अब तपाईं एकल अध्यक्षका रूपमा काम गर्नुस्, ओली अध्यक्ष त कायम हुनुहुन्छ तर, तपाईंको कुनै निर्णयमा हस्तक्षेप गर्नुहुन्न। उहाँले प्रधानमन्त्रीको जिम्मेवारी मात्र वहन गर्नुहुन्छ। अब यसरी अगाडि बढौं”, दाहालसमक्ष गरिएको प्रस्तावबारे स्रोतले भन्यो।
तर, दाहाल यसमा ‘कन्भिन्स’ भएका छैनन्। आफूले धेरै पटक धोका पाइसकेको र अब ‘कम्प्रमाइज’ गर्न नसकिने मनस्थितिमा दाहाल पुगेको उनीनिकट एक नेताले बताए।
केही दिन पहिले आफूलाई भेट्न आएका नेकपा स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग पनि दाहालले आफू पछाडि नहट्ने बताएका थिए। पार्टी एकताका लागि आफूले धेरै पटक लचकता देखाइसकेको भन्दै दाहालले अब लचक हुने ठाउँ नभएको बताएका थिए।
वामदेवलाई फेरि ओलीको अफर– ‘चुनावी सरकारको प्रधानमन्त्री’
नेकपामा देखापरेको संघर्ष आफूमाथि संकट बनेर आएपछि प्रधानमन्त्री ओली १३ मंसीरको बैठकअघि एउटा वा दुइटा होइन, थुप्रै विकल्प प्रयोग गर्न तम्सिएका छन्। त्यसमध्येकै हो, उपाध्यक्ष वामदेव गौतमलाई चुनावी सरकारको प्रधानमन्त्री बन्न गरिएको प्रस्ताव।
नेकपाको उच्च स्रोतले प्रधानमन्त्री ओलीले गौतमलाई अर्को वर्ष चुनावी सरकारको प्रधानमन्त्री बन्न र अहिले आफूलाई साथ दिन आग्रह गरेको बतायो। नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरूमार्फत ओलीले गौतमलाई यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ।
यसअघि ओली र गौतमबीचको सम्बन्धमा बढेको चिसोपन हटाउन पौडेलले नै महत्वपूर्ण भूमिका वहन गर्दै आएका थिए। ओलीसँग कहिले नजिक त कहिले टाढा रहँदै आएका गौतम पछिल्लो समय दाहाल–समूहसँग नजिक भए पनि खुलेर बोलिरहेका छैनन्।
तर, ओलीको यस्तो प्रस्तावमा वामदेव सकारात्मक देखिएका छैनन्। उनले पार्टीलाई कमिटीगत प्रणाली र पद्दतिमा चलाउनुपर्ने, प्रधानमन्त्री ओलीले आत्मलोचनासहित अघि बढ्नुपर्ने जवाफ दिएका छन्। विगतमा धेरैपटक ओलीबाट धोका पाएको भन्दै गौतमले अब यसरी जान नसकिने जवाफ प्रस्ताव बोकेर आउने नेताहरूलाई दिएको बताइन्छ।
ओलीको भय र दाहाल–नेपाल रणनीति
प्रधानमन्त्री ओलीले आफूलाई आरोपित गरेको दाहालको प्रस्ताव कुनै प्रस्ताव नभई आरोपपत्र भएकाले त्यसलाई फिर्ता लिन आग्रह गर्दै आएका छन्। तर, त्यो प्रस्ताव कुनै हालतमा फिर्ता नलिने दाहालको अडान देखिन्छ। सञ्चारमाध्यम र कार्यकर्ताको हातसम्म पुगेको प्रस्ताव फिर्ता लिनुसाटो त्यसमा बहस गरिनुपर्ने दाहाल पक्षका नेताहरू बताउँछन्।
“उहाँले कुनै हालतमा प्रस्ताव फिर्ता लिनुहुन्न। मिडिया र कार्यकर्ताको हातमा पुगिसकेको प्रस्ताव फिर्ता लिनु भनेको सिद्धिनु हो, त्यसपछि कसले दिन्छ उहाँलाई साथ रु यो त हामी सबैमाथिको धोका हुन्छ”, दाहालनिकट एक स्थायी कमिटी सदस्यले भने।
दाहाल आफूले प्रस्तावमा उल्लेख गरेअनुसार नै ओलीले आत्मालोचना र त्याग गर्नुपर्ने अडानमा छन्। ८ मंसिरमा आफूलाई भेट्न पुगेका नेता रायमाझी र गजुरेललाई पनि दाहालले यही कुरा सुनाएका थिए।
नेकपामा देखिएको शक्ति संघर्ष र विकसित पछिल्ला घटनाक्रमले अल्पमतमा देखिएका प्रधानमन्त्री ओली आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने दाहाल–नेपाल समूहको योजना रहेको बुझाई रहेको देखिन्छ। उनले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट निर्णय गराएर आफूलाई दुवै पदबाट हटाउने ‘षडयन्त्र’ भइरहेको आफूनिकटहरुलाई बताउने गरेका छन्। त्यसकै संकेत गर्दै ८ मंसिरमा ताप्लेजुङको घुन्सा पुगेका ओलीले भनेका थिए–‘सरकारको लोकप्रियताबाट डराएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएका छन्।’
तर, दाहाल–नेपाल समूह ओलीलाई अहिलेकै अवस्थामा प्रधानमन्त्रीबाट हटाउने पक्षमा देखिँदैन। नेपालनिकट एक नेताका अनुसार १३ मंसिरको सचिवालय बैठकमा ओलीलाई पार्टी अध्यक्षको पद छाड्नका लागि चाहिँ प्रस्ताव गरिनेछ। “उहाँले यसलाई सहज रुपमा लिएमा वरिष्ठ नेताको हैसियतमा प्रतिनिधि सभाको यो कार्यकालभर उहाँलाई प्रधानमन्त्री रहिरहन प्रस्ताव गर्ने हो”, ती नेताले भने, “तर, त्यस दिनको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव र प्रस्तुतिले बाँकी विषय निर्धारण गर्नेछन्। त्यसकारण अहिले नै यसै हुन्छ नभनौं।”
दाहाल–नेपाल समूह यसबीचमा प्रधानमन्त्री ओलीले जतिसुकै चलखेल गरेपनि त्यसले काम नगर्ने दाबी गर्छ। ओलीले विभिन्न समयमा विभिन्न प्रस्ताव गरेको, तर त्यसलाई पूरा नगरेको, बरु निर्णय भएका विषयमा पनि काम गर्न नदिने व्यवहार देखाएकाले यसपटक कुनै प्रस्तावले काम नगर्ने यो समूहको दाबी छ।
पार्टीभित्रको विवाद मिलाउन सँधै सक्रिय भइरहने प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि योपटक काठमाडौंमा नहुनुलाई दाहाल–नेपाल समूह ओलीको अस्त्रले काम नगरेको रूपमा बुझिरहेको छ। यसपालि आफ्नो पहलले काम नगरेपछि काठमाडौंबाट सोमबार बुटवल फर्किएका पोखरेल अहिले उतै छन्। पछिल्लो समय नेकपा विवाद मिलाउन बालुवाटार र खुमलटार गरिरहने महासचिव विष्णु पौडेल पनि अहिले रूपन्देहीमै छन्। उनी बिहीबार मात्र काठमाडौं फर्कनेछन्। यो बीचमा ओली र दाहालबीच कुनै सम्वाद पनि भएको छैन।
ओलीको रणनीति संसदीय दल, थापाको साथ दाहाल–नेपाललाई !
प्रधानमन्त्री ओली सकेसम्म सचिवालयबाहेक अन्य बैठक टार्ने मूडमा छन्। अहिलेकै अवस्थामा स्थायी कमिटी र केन्द्रीय कमिटीमा जाँदा आफू झन् अप्ठेरोमा पर्ने भएपछि दाहाल–नेपाल समूह आफ्नो अडानबाट पछि नहटे उनी सकेसम्म पार्टीको विवादलाई संसदीय दलमा लैजाने तयारीमा छन्।
नेकपाभित्रको शक्ति संघर्षमा खुलेर नआए पनि अप्रत्यक्ष रुपमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले यसपटक भने दाहाललाई साथ दिने बचन दिएका छन्। उनले दस्तावेजमा छलफल हुने भएकाले आफूले दाहाल–नेपाल समूहलाई नै साथ दिने निधो गरेको बताइन्छ।
पार्टीका कमिटी भन्दा संसदीय दलमा राम्रो अवस्थामा रहेका ओली केही मिहिनेत गरे त्यहाँ आफ्नो बहुमत सिद्ध गर्न सकिने बुझाइमा छन्। त्यही कारण आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउन खोजिए संसदीय दलमा जाने र दलमा जाँदा आफ्नो पक्षमा बहुमत पुर्याउन सकिने ओलीको आकलन छ। संसदीय दलमा जाँदा पूर्वमाओवादी तर्फका केही सांसदले समेत साथ दिने ओलीको विश्वास रहेको बताइन्छ। तर, दाहालनिकट एक स्थायी कमिटी सदस्य भने यसमा पनि उनी सफल नहुने दाबी गर्छन्।
प्रधानमन्त्री ओलीलाई उनी निकट केही नेताहरुले प्रधानमन्त्री पद छाड्न नहुने, बरु पार्टी ‘ब्रेक’ गरेर भए पनि अघि बढ्न दबाब दिइरहेको नेकपाको उच्च स्रोत बताउँछ। तर, स्वयं प्रधानमन्त्री ओली भने यसमा सहमत नभएको बताइन्छ। पार्टी फुटाउनुभन्दा संसदीय दलको सामना गरेर बहुमत सिद्ध गर्ने तयारीमै ओली जुटिरहेका छन्।
यस्तो रस्साकस्सी र जोडघटाउ चलिरहँदा नेकपाभित्रको शक्ति संघर्षमा खुलेर नआए पनि अप्रत्यक्ष रुपमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले यसपटक भने दाहाललाई साथ दिने बचन दिएका छन्। उनले दस्तावेजमा छलफल हुने भएकाले आफूले दाहाल–नेपाल समूहलाई नै साथ दिने निधो गरेको बताइन्छ। केही दिन पहिले थापा, वर्षमान पुन, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, घनश्याम भुसाल लगायतका दोस्रो तहका नेताहरूको अनौपचारिक छलफलमा थापाले कित्ता क्लियर गरेको उक्त छलफलमा सहभागी एक नेताले बताए।
थापाले कित्ता क्लियर गरेको विषयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउन पोखरेल र ज्ञवालीले आफूहरूसँगै बालुवाटार जान पुन र शर्मालाई अनुरोध गरेका थिए। तर, पूर्वमाओवादी समूहका यी नेता बालुवाटार जान तयार नभएको र त्यतिमै अनौपचारिक छलफल सकिएको ती नेता बताउँछन्।
यसबीचमा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई बालुवाटार बोलाएर गरेको छलफलबाट दाहाल–नेपाल समूह थप रुष्ट छ भने सचिवालयमा छलफल हुनेक्रममा रहेको प्रस्ताव कार्यकर्तासम्म पुर्याएको भन्दै ओली समूह थप आक्रोशित बनेको छ। र, दुवै समूहले १३ मंसीर पर्खिरहेका छन्।
यस्तो अवस्थामा १३ मंसीरमा बस्ने सचिवालय बैठक एउटा टुंगोमा पुग्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीनिकट एक सचिवालय सदस्य भन्छन्, “१३ गतेको बैठकबाट एउटा कुनै न कुनै निकास निस्कन्छ, निस्कनुपर्छ। सँधै यसरी चलेर हुँदैन। पार्टी, आन्दोलन र सरकार नै अफ्ठ्यारोमा पारेर जाने कहाँ हो ?” ओलीनिकट अर्का एक नेताका अनुसार दाहालले सचिवालयमा ल्याएको प्रस्ताव छापेर कार्यकर्ताको हातमा पुर्याई अर्को अराजनीतिक कदम चालेका छन्। सचिवालयमा छलफलमै नआएको प्रस्ताव अराजनीतिक आरोपपत्र भएको टिप्पणी गर्दै ती नेताले भने, “लक्षण ठीक छैन। सचिवालयमा छलफलमै नआइसकेको प्रस्ताव छापेर तल्ला कमिटीमा पठाइएको छ। यस्तो अराजनीतिक काम पार्टी इतिहासमै भएको थिएन। यसले मिल्ने भन्दा पनि झन् बिगार्ने काम भयो।”
दाहालनिकट नेकपा स्थायी कमिटी सदस्य मात्रिका यादव भने सञ्चारमाध्यममा आइसकेको प्रस्ताव कार्यकर्तासम्म पुग्नु सामान्य रहेको बताउँछन्। “दुवै अध्यक्षका पत्रहरू, दुवै अध्यक्षका सबै कुरा मिडियामा आइसकेका छन्। तिनै कुरा कार्यकर्तासम्म पुगेका हुन्। अब यसमा बहस र छलफल हुनुपर्छ, यसले छलफलको बाटो निर्माण गरेको छ”, यादवले भने। उनले दाहालको प्रस्तावको निश्कर्षमा उल्लेख भएजस्तै ओली अगाडि बढे पार्टीभित्रको समस्या हल हुने बताए।
पटक पटकका विवादपछि लेनदेनमा मिल्दै आएको नेकपाभित्रको शक्ति संघर्ष यसपालि लेनदेनबाट मात्र समाधान नहुने अवस्थामा पुगेको नेताहरू बताउँछन्। यसबीचमा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई बालुवाटार बोलाएर गरेको छलफलबाट दाहाल–नेपाल समूह थप रुष्ट छ भने सचिवालयमा छलफल हुनेक्रममा रहेको प्रस्ताव कार्यकर्तासम्म पुर्याएको भन्दै ओली समूह थप आक्रोशित बनेको छ। र, दुवै समूहले १३ मंसीर पर्खिरहेका छन्।
साभार: हिमालखबर