गुल्मी । जिल्लको रेसुङ्गा क्षेत्रमा ३४ प्रजातिका नयाँ चरा भेटिएका छन्।
बर्ड कन्जरभेसन नेपालले गरेको पछिल्लो सर्वेक्षणबाट गुल्मीको रेसुङ्गा क्षेत्रमा ३४ नयाँ प्रजातिका चराहरू फेला परेका हुन्। यी चरा मुलुकका अन्य विभिन्न क्षेत्रमा पाइए पनि गुल्मीको रेसुङ्गा क्षेत्रमा अहिलेसम्म रेकर्ड भएका थिएनन्।
बर्ड कन्जरभेसन नेपालले सन् २०२० को १ देखि ५ नोभेम्बरसम्मको अवधिमा गरेको सर्वेक्षणमा कुल १६२ प्रजातिका चराहरू रेकर्ड भएका थिए। यीमध्ये रेसुङ्गा क्षेत्रमा नयाँ ३४ प्रजातिका चराहरू भेटिएका संस्थाका कार्यक्रम अधिकृत तथा चराविद् मित्र पाण्डेले बताए।
यसरी नयाँ भेटिएका चराहरूमा कैलो पहाडी उलुक, मधुहा, भछ्यका, पहाडी श्यनबाज, सेतो पेटे जुरे चरा, चदुँवा चिचिलकोटे, रातो टाउके फिस्टो, कटुस टाउके तोरीगाँडा, मुरारी पुतली चरा लगायत छन्।
डेनमार्कको डेनिस अर्निथोलोजीकल सोसाइटीसँगको सहयोगमा ‘पिपुल्स पार्टनर विथ नेचर’ कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा क्षेत्रमा सर्वेक्षण गरिएको थियो। चराविद् टेक घर्तीमगर नेतृत्वको तीन सदस्यीय टोली सर्वेक्षणमा सहभागी थियो।
सर्वेक्षणका लागि गुल्मीको रेसुङ्गासँगै मदाने संरक्षित वन क्षेत्र पनि छनोट गरिएको थियो। गुल्मीको रेसुङ्गा महत्वपूर्ण पंक्षी तथा जैविक विविधता क्षेत्रमा पर्छ। मदाने संरक्षित वन क्षेत्र महत्वपूर्ण पंक्षी तथा जैविक विविधता अन्तर्गत प्रस्तावित क्षेत्र हो।
नेपालमा रेसुङ्गा जस्तै कुल ३७ वटा महत्वपूर्ण पंक्षी तथा जैविक विविधता क्षेत्र छन्। यी ठाउँहरूमा पनि सर्भे गरेर चराहरूको तथ्यांक संकलन र अध्ययनको काम भइरहेको चराविद् पाण्डेले बताए।
रेसुङ्गा क्षेत्रमा यसअघि गत वर्षको अगष्ट महीनामा नेपाल पन्छी संरक्षण संघका कर्मचारी भरत पन्थीले विश्वकै दुर्लभ चरा लोभीपापी गरुड फेला पारेका थिए। रेसुङ्गा क्षेत्रमा पहिले भेटिएका २०३, लोभिपापी गरुडसहित अहिले ३४ प्रजातिका थपिएपछि कुल २३७ प्रजातिका चरा रेकर्ड भएका हुन्।
यसअघि रेसुङ्गाको जंगलमा सन् २०१७ मा भएको सर्भेबाट २०० र २०२० को फेब्रुअरीमा भएको सर्भेबाट ५७ प्रजाति रेकर्ड भएका थिए। त्यसबेला ५७ मध्ये ३ वटा नयाँ प्रजाति भेटिएका थिए। नियमितजसो हुने यो सर्भेबाट चराहरूको तथ्यांक संकलन र अध्यावधिक गर्ने गरिन्छ।
सन् २०२० भन्दाअघि भएका सर्भेका क्रममा चराका दुर्लभ प्रजाति मानिने सेतो गिद्ध, सुन गिद्ध, दंगर गिद्ध र गोमायु महाचिल रेकर्ड भएका थिए। नेपालमै मात्र पाइने काँडेभ्याकुर पनि रेसुङ्गा क्षेत्रमा गरेको सर्भेबाट रेकर्ड भएको छ।
पछिल्लो सर्भेबाट रेसुङ्गा क्षेत्रमा चराहरूको नयाँ प्रजाति फेला पर्ने क्रम बढेको देखिएको छ। यसले रेसुङ्गा क्षेत्र जैविक विविधताको हिसाबले सम्पन्न भएको देखाउने चराविद् पाण्डे बताउँछन्।
“नयाँ प्रजातिका चराहरू देखिनुले त्यस क्षेत्रमा चराको बासस्थान सुध्रिएको वा चरा संरक्षणमा स्थानीयले महत्व दिएको भनेर बुझ्न सकिन्छ,” उनी भन्छन्। चराहरूको बासस्थानमा सुधार भएकै कारण उनीहरूको संख्या पनि बढेको पाण्डेको तर्क छ।
नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन्। यीमध्ये २७ प्रतिशत गुल्मीको रेसुङ्गा क्षेत्रमा पाइने गरेको बर्ड कन्जरभेसन नेपालको तथ्यांक छ।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दण्डघढ