कालिकोट । नेपालमा चलेको १० वर्षे द्वन्द्वले धेरैले भौतिक तथा शारीरीक क्षति बेहोर्नु प¥र्यो । कतिपयका आफन्तहरु अहिले सम्म बेपत्ता छन् ।
कति मानिसहरु घाइते भएर जीवन विताउदै आएका छन् । कतिका परिवार गुमे, धेरैले अंगभंग हुनपर्यो । द्वन्द्वका कारण राज्यले व्यहोरेको भौतिक क्षति पनि कम छैन । मुलकुमा शान्ति सम्झौता भई द्वन्द्व समाधान भएको पनि १४ वर्ष वितिसक्यो । तर, द्वन्द्वका कारण राज्य वा विद्रोही पक्षबाट अन्यायमा परेका नागरिकहरुको अवस्था र उनिहरुको जीवनचर्या हेर्ने हो भने दर्दनाक छ ।
पिडित पक्षले अहिलेसम्म न्याय पाएका छैनन् । द्वन्द्वका कारण बेपत्ता भएकाका परिवार आफन्त आउलान् भन्ने आशमा बाटो कुरेरै बसेका छन् । रास्कोट नगरपालिका वडा नम्बर २ का गेल्जने दमाइका भाई संकटकाल देखि अहिले सम्म बेपत्ता छन् ।
उनको कुनै पनी खबर आफन्तले थाहा पाएका छैनन् । द्वन्द्वका कारण श्रीमान बेपत्ता भएका सान्निवित्रेणी गाउँपालिका–६ कि सुपारी लुहारले श्रीमानको बाटो कुर्दै बसेको १८ वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ । ’ उनले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको पीडित पहिचान तथा परिचयपत्र वितरण सम्बन्धमा कालीकोटमा आयोजना गरिएको अन्तरिक्रया कार्यक्रममा यस्तो गुनासो गरे ।
आफ्नो बुवा वेपत्ता भएको बर्षौ वित्दा पनि अहिलेसम्म जीवित छन् वा मृत फेला पर्न नसकेको स्थानीय नरेन्द्र बोगटीले बताए । बोगटीकै जस्तो पीडा अहिले वडा सरकार चलाईरहेका जिल्लाको सान्निवित्रेणी गाउँपालिका–६ का वडाध्यक्ष रंगराज सार्कीको पनि छ ।
सार्कीका २ भाईलाई राज्यद्धारा बेपत्ता पारिएको थियो अहिले सम्म पत्ता लागेको छैन । कालीकोटका धेरै व्यक्तिले सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका छन् । द्वन्द्वपछि शान्ति सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । द्धन्द्धको बेला कुनै पनि प्रकारले बेपत्ता परेकाको राज्यले खोजिगर्नुपर्ने कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बताएका थिए ।