सुर्खेत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले केपी शमौ ओली नेतृत्वको सरकार हरेक नागरिकको स्वास्थ्यप्र गम्भीर रहेको बताएका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा १५ शैय्याको अस्पताल भवनको शिलान्यास गर्दै राज्यमन्त्री रावतले यस्तो बताएका हुन् । सोही बमोजिम स्वास्थ्य सुविधाका लागि हरेक पालिकामा ५ देखि १५ शैय्याको अस्पताल निर्माण गर्ने योजना रहेको उनले बताए ।
राज्यमन्त्री रावतले शिलान्यास मात्र गरिएको नभई तत्कालै सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालको भवनका साथै जनशक्ति तथा उपकरणको कमी हुन नदिने राज्यमन्त्री रावतले प्रतिबद्धता जनाएका छन् ।
‘तपाइहरुलाई कही कतै अस्पतालको आश्वासन मात्रै दिएका हुनकी बजेट आउछ की आउदैन भन्ने लागेको हुनसक्छ’ शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले भने, ‘१८ करोड बजेट आउने सुनिश्चित भैसकेको छ भने एक करोड पठाइसकेका छौँ, अब ढुक्क हुनुस जनशक्ति र सामग्रीसहितको अस्पताल बन्छ ।’ रावतले दुई बर्षभित्र भवन निर्माण कार्यसम्पन्न हुने बताए ।
सम्बन्धित क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राज्यमन्त्री रावतले आफूले निर्माणका बेला गरेका प्रतिबद्धताहरु क्रमिक रुपमा पूरा गर्दै गएको बताए । पश्चिमको विकासका लागि सडक, बत्ति र अस्पताल निर्माणमा प्रगति भइरहेको बताउँदै रावतले जनतासामू गरेका बाचा पूरा गर्न इमान्दार भएर लाग्ने बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य सदस्य नन्दा शर्माले नागरिक स्वस्थ नभई समृद्धि नहुने भन्दै सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भिर छ भन्ने कुरा प्रमाणित हुने बताइन् । कर्णाली प्रदेशसभा सदस्य बिन्दमान बिष्टले सरकार समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न अग्रसर रहेको र स्थानीय तहमा अस्पताल बनाउने निर्णयले त्यसमा टेवा पुगेको बताए । उनले विकासमा पूराना झण्झटिलो विधि र प्रक्रियाले ढिलासुस्ति भएको बताउँदै त्यस्ता नीति विधिलाई सच्याएर अघि बढ्नुपर्ने बिष्टले बताए । उनले पञ्चपुरी नगरपालिका पश्चिमको केन्द्र भएकाले ५० शैय्याको अस्पताल बनाउनुपर्ने बताए ।
प्रदेशका अर्का सदस्य यज्ञबहादुर विसीले अस्पतालको सेवाका लागि जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए । जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्द्धेलले सबैको समन्वयमा पश्चिम सुर्खेतको विकास गर्नुपर्ने बताए । चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्रबहादुर थापाले हाल भएकै भवनबाट पनि सेवा सञ्चालन गर्न सकिने भएकाले तत्काल जनशक्ति व्यवस्थापन गर्न आग्रह गरे ।
यससंगै सुर्खेत निर्वाचन क्षेत्र नं. २ का चारवटै स्थानीय तहमा १५ शैय्याका अस्पतालको शिलान्यास गरिएको छ । स्वास्थ्य राज्यमन्त्री रावतको उपस्थितिमा वीरेन्द्रनगरको लाटिकोइली, बराहतालको बड्डीचौर, पञ्चपुरीको सालकोट र चौकुनेको बिजौरामा अस्पतालको शिलान्यास गरिएको हो ।