काठमाडौं । धान रोप्दै गर्दा किसानहरुले मल नपाएपछि सरकारले भनेको थियो, अब गोड्ने बेलासम्म मल आइपुग्छ । त्यो पनि सम्भव भएन ।
अब गहुँ छर्ने बेला त मल पाइएलाकी भन्ने अपेक्षा थियो, गहुँ छरियो । तर गहँु हर्केर काटुन्जेल पनि मल नपाइने होकी भन्ने चिन्ताले कृषकहरूको निन्द्रा हराएको छ ।
कैलालीका गंगा चौधरीले मल हालेर धान हुर्काउन र त्यसै अनुसारको फल लिन पाउनुभएन । अहिले दुई विगाहा क्षेत्रफलमा गहुँ छर्नु भएको छ । मल पाइला र गहुँ छरौंला भन्ने आशा पूरा नभएपछि २० दिन अघि खेत खनजोत गरेर चौधरीले मल बिनै गहुँ छरेका छन् ।
सिरहाका राम उद्गार महतोले पनि १५ दिन अघि गोडमेल गरेर गहुँको बिउ छर्नुभयो । तर, गहुँ खेतीमा आवश्यक पर्ने मल सजिलै पाइएन । कालोबजारीमै भएपनि महँगोमा मल किने । अझै पनि चाहिनेजति मल हाल्न पाउनु भएको छैन । कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका अनुसार नेपालको ७ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो ।
जसमा १८ लाख ८३ हजार मेट्रिक टन उत्पादन भएको थियो । धान खेती लगतै गरिने गहुँ खेतीमा पनि डिएपी, युरिया, जिन्क लगायतका मलको प्रयोग गरिन्छ । तर, समयमै मल उपलब्ध नहुँदा गहुँ खेती गर्ने क्षेत्रफल र उत्पादन घट्दै गएको गहुँ खेती गर्दै आउनुभएका दाङका कोमानन्द न्यौपाने बताउनुहुन्छ । विवादित कम्पनी शैलुङ इन्टरप्राइजेजले रासायनिक मल आपूर्तिको तेस्रो ठेक्काको म्याद गुजारेको छ । अर्को ठेकेदार कम्पनी मुक्तिनाथका दुई वटा ठेक्काको म्याद आज र भोली सकिंदैछ । तर उसले मल नल्याउने पक्का भइसकेको छ । एक पछि अर्को ठेक्का खारेज गर्नुपर्ने अवस्थाले सरकार मल कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलमा छ ।
सरकारले गहुँमा आत्मनिर्भर हुनका लागि राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम ल्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पनि गहुँलाई समेटेको छ । मल खरिद गर्न १० अर्ब बजेट सुनिश्चित भए पनि किसानले समयमा मल पाउन भने सकेका छैनन् ।