सिमकोट । बोलेरो जिप दुर्घटनामा परेर ज्यान गुमाएकाको आज अन्त्यष्टी गरिएको छ ।
हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयाको जबुकानजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको आज एकैसाथ अन्त्यष्टी गरिएको हो ।
दुर्घटनामा ज्यान गएका चारैजनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल हुम्लामा राखिएको शवलाई आफन्तले बुझेपछि आज अन्त्यष्टि गरिएको हो ।
दुर्घटनामा ज्यान गएका चारैजना नेपाली कांग्रेसका भातृ संगठन र क्रियासिल सदस्यमा आवद्ध भएका कार्यकर्ता भएपछि नेपाली कांग्रेसले शोक सभाको आयोजना गरेर मृतकको अन्त्यष्टी गरिएको हो ।
दृर्घटनामा ज्यान गुमाएका सिमकोट गाउँपालिका वडा नं ७ निवासी पर्वत सुनार नेपाली कांग्रेसको भातृ संगठन जिल्ला दलित संघको सह सचिव, नाम्खा गाउँ पालिका १ निवासी गुरु तामाङ गाउँ कमिटि उपाध्यक्ष, सिमकोेट गाउँपालिका २ निवासी पारस बोहरा र नाम्खा गाउँ पालिका १ निवासी डुकि तामाङ क्रियासिल सदस्य रहेकाले पार्टीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव मोहनविक्रम सिंहले जानकारी दिए ।
“दुर्घटनामा परेर ज्यान गुमाएका चारैजनाको दुःखत निधनले हुम्लापार्टीलाई अपुरणीय क्षतथी भएको छ”, सचिव सिंहले नेपालबोटलाई भने, “सरकारले हुम्लामा निर्माणाधिन सडकहरुलाई व्यवीसथ बनाउनमा ध्यान नदिएका कारण वर्षेनी हुम्ली नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ ।”
दुर्घटनामा परेर घाइे भएकाहरुको निशुल्क उपचारको व्यवस्था गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारले गर्नु पर्ने माग पार्टी सचिव सिंहको छ ।
यात्रु बोकेर सदरमुकाम सिमकोट आउदैं गरेको उक्त बलेरो दुर्घटनामा परेर चार जनाको घटनास्थलमै ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।