ऐजेन्सी । पूर्वी अफगानिस्तानमा पत्रकार महिला मलाला माइवन्दलाई गोली हानी हत्या गरिएको छ।
बिहीबार जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला माइवन्दमाथि हतियारधारी व्यक्तिहरुले गोली प्रहार गर्दा चालक मोहम्मद ताहिरसहित उनको मृत्यु भएको हो।
घटनाको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन। प्रान्तीय गभर्नरका प्रवक्ताले घटनापछि हत्यारा उक्त क्षेत्रबाट भाग्न सफल भएको स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।
माइवन्द एनिकास टीभी एन्ड रेडियोको पत्रकार थिइन्। उनी सामाजिक अधिकारकर्मी पनि थिइन्। उनी अफगानिस्तानमा पत्रकार महिलाले भोग्नुपर्ने चुनौतीबारे बोलेकी थिइन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार, माइवन्दकी आमा पनि अधिकारकर्मी थिइन्, जसको पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरुले हत्या गरेका थिए।
अफगानिस्तानस्थित बेलायतका राजदूत एलिसन ब्लेकले माइवन्दको हत्याको घटनाको निन्दा गर्दै यसको अनुसन्धान हुनुपर्ने बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'प्रेस स्वतन्त्रताको लागि हामी एकजुट हुनुपर्छ। माइवन्दको हत्याबारे छानबिन हुनुपर्छ र दोषीलाई यो घृषित कार्यको लागि सजाय मिल्नुपर्छ।'
अफगानिस्तानमा पछिल्लो समय कैयौं पत्रकार, सामाजिक कार्यकर्ता र राजनीतिक व्यक्तिहरुलाई निशाना बनाइएको छ। पछिल्लो महीना मात्रै चर्चित टेलिभिजन प्रस्तोता यामा सियावाशसहित तीन जनाको हत्या गरिएको थियो।
यस्तै, रेडियो लिबर्टीका रिपोर्टर आलियास दायीलाई हेल्मन्ड प्रान्तको लश्कर गाहमा कार बम विस्फोटमा मारिएको थियो। बीबीसी