ऐजेन्सी । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले कोरोना भाइरस ९कोभिड १९० विरुद्ध निर्माण गरेको भ्याक्सिनलाई अमेरिकाले पनि प्रयोगका लागि अनुमति दिएको छ ।
यससम्बन्धी निर्णय गर्ने खाद्य र औषधिसम्बन्धी प्रशासन ९एफडिए० ले शुक्रबार भ्याक्सिनलाई देशभित्र आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।
अरू देशले भ्याक्सिन प्रयोग गर्नसमेत थालेपछि अमेरिकामाथि भ्याक्सिनलाई मान्यता दिन दबाब परेको थियो । एफडिएलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यालयले भ्याक्सिन आपत्कालीन प्रयोगका लागि अनुमति दिन दबाब दिएका थियो ।
अमेरिकी मिडियाले जनाएअनुसार राष्ट्रपति कार्यालयले एफडिएका प्रमुख स्टेफेन हानलाई सो भ्याक्सिनलाई मान्यता दिन वा पद छाड्न भनेका थिए । प्रमुख हान आफैँले भने सो कुरामा सत्यता नरहेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले चाँडै नै अमेरिकामा पनि आमनागरिकका लागि भ्याक्सिन लगाउन सुरु गरिने जनाएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट दुई लाख ९२ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
स्वास्थ्य र मानव सेवासम्बन्धी सचिव एलेक्स अजरले अमेरिकामा चाँडै नै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गर्नेबारे फाइजरसँग छलफल गर्ने बताएका छन् । उनका अनुसार सोमबार वा मंगलबारबाटै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गरिने तयारी अमेरिकाको छ । यो भ्याक्सिनलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । बेलायतले त सर्वसाधारणका लागि समेत भ्याक्सिन लगाउन सुरु गरिसकेको छ ।
अमेरिकामा गएको बुधबार मात्रै कोरोना भाइरस संक्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको थियो । यो विश्वको कुनै पनि देशमा अहिलेसम्म एकै दिनमा भएको सर्वाधिक मृत्यु संख्या हो ।
बिहीबार मात्रै विज्ञहरूको समूहले एफडिएलाई सो भ्याक्सिन आपत्कालीन प्रयोगका लागि मान्यता दिन सुझाब दिएको थियो । २३ जना विज्ञहरू रहेको समूहले भ्याक्सिन प्रयोगले कोरोना भाइरस महामारीले पारेको क्षति कम गर्न मद्दत गर्ने निष्कर्ष निकालेको थियो ।
‘बिहीबारको विज्ञहरूको टोलीको बैठकमा व्यापक र सकारात्मक छलफल भएको छ । विज्ञहरूको छलफलपछिको सुझावअनुसार फाइजर भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइनेबारे चाँडै निर्णय हुनेबारे सबैलाई जानकारी गराइएको छ’, एफडिएले विज्ञप्तिमा भनेको छ । फाइजर भ्यासिनलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिइएको बारे एफडिएले सबै राज्य र त्यसअन्तर्गत भ्याक्सिन वितरण गर्ने निकायलाई समेत जानकारी गराइएको जनाएको छ ।