मंसिर १५, सुर्खेत । जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारवाही गरेको छ ।
ट्राफिक कारवाहीमा परेका सात हजार २४२ सवारीबाट चार महीनामा प्रहरीले रु ४३ लाख ८० हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।
“नियम विपरीत सञ्चालन गरी ट्राफिक कारवाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मादकपदार्थ सेवनका छन्,” प्रहरी उपरीक्षक रजौरेले भने, “ साउनमा एक हजार ४४१, भदौमा एक हजार ६९७, असोजमा एक हजार ८१४ र कात्तिकमा दुई हजार २९० सवारी कारवाहीमा परेका थिए । उनका अनुसार ट्राफिक कारवाही प्रक्रिया बढे पनि ट्राफिक नियम विपरीत सञ्चालन हुने सवारी सङ्ख्या घटेको छैन ।
उनले अवैध रुपमा नदीजन्य पदार्थको अवैध निकासी पैठारी गर्ने कार्यमा संलग्न २२ ट्र्याक्टर, पाँच टिपर, तीन ट्रक र एक डोजर गरी ३१ सवारी साधनलाई आवश्यक कारवाहीका लागि स्थानीय तहमा पठाइएको जनाए । त्यस्तै सात हजार ३२० लिटर कच्चा, तीन हजार ५१४ लिटर तयारी र ५१ थान उत्पादन सामग्रीसहित अवैध स्थानीय मदिरा बरामद गरिएको उनले बताए ।
जुवाबाट रु साढे ११ लाख ५० हजार
जिल्ला प्रहरी कार्यालयले जुवातासबाटै रु ११ लाख ५० हजार २८ बरामद गरेको छ । खासगरी दशैँतिहारका समयमा सुर्खेत प्रहरीले नगदका साथै ७७ जुवाडेलाई नियन्त्रणमा लिएको र ११ मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक रजौरेले बताए । उनले भने, “हामीले लागुऔषधअन्तर्गत ३१ मुद्दा दर्ता गरेका छौँं जसमा ३६.६४ ग्राम ब्राउन सुगर र ११ किलो ५०० ग्राम गाँजासहित ४८ पुरुष र चार महिलालाई नियन्त्रण लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ ।
त्यसैगरी प्रहरीले चोरीअन्तर्गत आठ मुद्दा दर्ता गरेर रु ३९ हजारसमेत बरामद गर्नाका साथै तीन ल्यापटप, मोबाइल, ब्याट्री, ट्र्याक्टरको इञ्जिनसहित यान्त्रिक पाटपूर्जा र धातु गरी ९२ थान जिन्सी बरामद र ११ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिहार एवं विभिन्न समयमा विस्फोटक पदार्थ (पटाका) ११ हजार २७२ थान र विस्फोटक पदार्थ दुई थान सेफ्टी फ्यूज, डेटोनेटर तीन थान, गन पाउडर १२ किलो ७५० ग्राम र भरुवा बन्दुक एक थान बरामद गरिएको छ । अर्कातर्फ १७० क्युफिट अवैध काठसमेत बरामद गरिएको छ ।
एक लाख लाभान्वित
सुर्खेत प्रहरीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट एक लाख नागरिक लाभाविन्त भएका छन् । प्रहरीले गाउँ, टोल विभिन्न बस्ती समुदायमा सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट पहिलो चौमासिकसम्ममा मात्र एक लाख एक हजार नागरिक लाभान्वित भएका हुन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट ६० हजार र सामाजिक अपराधविरुद्ध जिङ्गल प्रसारणबाट ३० हजार नागरिक लाभान्वित भएको प्रहरी उपरीक्षक रजौरेले बताए ।
त्यस्तै सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमबाट नौ हजार ४७५, नागरिक सुनुवाइ कायक्रमबाट एक हजार ५०० गरी कूल एक लाख एक हजार नागरिक लाभान्वित भएको उनले बताए । त्यसैगरी प्रहरीले वीरेन्द्रनगर, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा समुदाय साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ ।