काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको आरोप लगाए ।
नेपाली काँग्रेसले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका व्यक्त गरे ।
प्रजातन्त्रको विरुद्ध जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको जानकारी दिए । सभापति देउवाले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको आलोचना समेत गरे । सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको आरोप देउवाको छ ।
पुर्ववत कार्यक्रम अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार (आज) देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा वृहद सभाको आयोजना गरिएको थियो । सभाअघि काठमाडौं क्षेत्र नम्बर १ को भृकुटीमण्डपबाट जुलुस निकालियो भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकालेका थियो ।
जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको हो ।