काठमाडौं । मैथिली परम्परानुसार हुने विवाहमा गाइने गीत हो यो। यो गीत रामजानकी विवाहपञ्चमी महोत्सवमा जनकपुरधाममा गुञ्जिरहेको छ।
सप्ताहव्यापी विवाहपञ्चमीले जनकपुरको मात्र नभएर सम्पूर्ण नेपालको परिचय बोक्छ। यसलाई नेपाल–भारत सम्बन्ध सेतुको प्रतीक मानिन्छ। त्यसैले जनकपुरधाम अहिले सजिसजाउ छ। कोराना (कोभिड–१९) को बेवास्ता गर्दै मानिसको भीड जताततै छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा यतिखेर कर्णप्रिय गीतहरु सुन्न पाइन्छ। विवाह, स्वागत र मङ्गल गानसहितका गीत अहिले घर–घरमा गुन्जयमान छन्। कारण के हो भने रामजानकी विवाह महोत्सवले यति बेला मिथिला क्षेत्रको जनकपुरधाम गुञ्जयमान भएको छ।
मिथिला संस्कृतिको प्रमुख पर्व मानिने यो उत्सवमा सहभागी हुन प्रत्येक वर्ष नेपाल र भारतका हजारौं भक्तजन जनकपुरधाम आउने गर्दछन्। राजा जनकद्वारा धनुष भाँच्ने प्रस्ताव राख्नु, धनुष भाँच्नेसँग सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा सितासँग स्वयम्वर गर्ने आदि गरी सिताराम विवाह महोत्सव मनाइने चलन परापूर्वकालदेखि नै जनकपुरधाममा चलिआएको छ। सीतालाई छोरी र बहिनीका रुपमा मान्ने मिथिलाबासी उत्सवमा अनिवार्य सहभागी हुन्छन्।
विवाह पञ्चमीमा देवीदेउताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा उपस्थित भएकाहरु जन्तीको आगमनदेखि बिहे नटुंगिएसम्म नै सामेल हुन्छन्। महोत्सवमा मिथिला संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्वर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताउँछन्।
विवाहपञ्चमी महोत्सव फुलबारी प्रसंगबाट सुरु हुन्छ। स्वयम्वरसम्मको आयोजनापछि देवी विवाह महोत्सव हुन्छ। विवाह महोत्सवका अवसरमा जानकी मन्दिर, राम मन्दिर,अग्नीकुण्ड, बिहारकुण्ड लगायतका दर्जनौं मठ मन्दिरबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय गाउँबाट आएका श्रद्धालूहरु पनि सहभागी भएका हुन्छन्। अयोध्या नरेश दशरथ पुत्र भगवान् राम र मिथिलाका राजा जनक पुत्री जानकीको स्वयम्वरको अवसरमा जनकपुरको ऐतिहाशिक रगंभूमि बाह्रबिघा मैदानमा प्रत्येक वर्ष लाखौं श्रद्धालुहरु सहभागी हुन्छन्।
महोत्सवमा विहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित दुलहा भगवान् रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्रेताकालीन रंगभूमि मैदानमा पुर्याइन्छ। त्यस्तै जानकी मन्दिरबाट मिथिला राजा जनकको भूमिकामा जानकी मन्दिरको नेतृत्वमा दुल्ही जानकीको प्रतिमालाई विशेष सु–सज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पुर्याइन्छ।
यसरी दुलहा रामको स्वर्णिम डोला र दुलही जानकीको विशेष सु–सज्जित डोला क्रमशः पाँच पटक परिक्रमा एवं आरती पूजनपछि स्वयम्वर सम्पन्न हुन्छ। स्वयम्वर समारोह सकेर दुलहा–दुलहीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुग्छन् र विवाह संस्कार कार्यक्रम प्रारम्भ हुन्छ।
जनकपुरधाममा प्राचीन कालदेखि नै रामजानकी विवाह पञ्चमी, राम नवमी, जानकी नवमी, मध्यमा मिथिला परिक्रमा, झुलनोत्सव लगायतका उत्सवहरु भइरहेका छन्। यसमा स्वःस्फूर्त धार्मिक पर्यटकको लर्को पनि लाग्ने गरेको छ। सरकारले यस्ता धार्मिक पर्वलाई पर्यटन अवसरमा परिणत गर्न कुनै रुचि नदेखाउनु दुःखदायी रहेको राम मन्दिरका महन्थ राम गिरीको भनाइ छ। पर्यटकको स्वागत, सत्कार र पर्यटन प्रवर्द्धनकै लागि भनेर खोलिएका संस्थाहरु पनि मौन बसेको पाइन्छ । तीर्थाटनमा आउने श्रद्धालु भक्तजनका लागि सरसफाई, बिजुली, पानी, पण्डाल र बासस्थानको समस्या नै हुने गरेको युवा अभियन्ता सुशिल कर्ण बताउँछन्।