नन्द सिंह
सिमकोट । खार्पुनाथ गाउँपालिका वडा नम्वर २ को थाली गाउँमा दैनिक दिन कम्तिमा १५ देखि २० वटा जती कुखुरा मर्ने गरेका छन् । गत तीन दिन यतामात्रै गाउँका स्थानीय (लोकल) कुखुरालाई अपरिचित रोग आएपछि दैनिक दिन करीव २० वटा जती कुखुराहरु मर्ने गरेको थाली गाउँका स्थानीयले बताए ।
पाँच दिन अगाडी मात्रै बाजुरा जिल्लाको कोल्टीबाट सर्केगाड गाउँपालिका २ उनपानी र रिप गाउँका दुई जना व्यापारीले विक्रिका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका लोकल कुखुरामा रोग फैलिएको छ । कुखुरामा हाल कुन रोग हो भन्ने यकिन समेत भएको छैन । तर पनि गाउँका स्थानीयहरुले मरेका कुखरा दैनिक जसो पकाएर खाने गरेका छन् । जिल्ला बाहिरबाट ती कुखुराहरु नल्याउँदासम्म गाउँका कुखुरामा कुनै पनि रोग लागेको थिएन स्थानीय लामा रावलले भने ।
बाहिरबाट ल्याएका कुखुराबाट सरेको रोगले हाल गाउँमा कुखुराहरु मर्ने क्रम बढेको छ । हालसम्म गाउँमा के कति कारणले कुखुरा मरेका हुन त्यसको जानकारी समेत भएको छैन । बाहिरबाट ल्याएका कुखुराको जोडीको ५ हजार ५ सयका दरले गाउँलेहरुले किनेपछि याहाँका लोकल कुखुरालाई रोगको प्रभाव परेको स्थानीय रावलको भनाई छ ।
सो गाउँमा ३ दिनमा ६० देखि ७० वटासम्म कुखुरा मरि सकेकामा कराउने, ढोक्राउने जस्ता लक्षणहरु देखा परेको छ । थाली गाउँमा सयौँ कुखुराहरु मरि सक्दा पनि खार्पुनाथ गाउँपालिका पशु शाखा कार्यालय मौन अवस्थामा छ । उक्त गाउँपालिकामा मान्छेका लागि त औषधिको पर्याप्त छैन भने कुखुराको लागि त झन केको उपचार गर्नु भन्ने स्थानीले गुनासो गर्न थालेका छन् ।
ती मरेका कुखुरा खानु भन्दा पहिला पोष्ट मार्टमका लागि क्षेत्रीय ल्यापमा पठाएर चेक जाँच गर्नु पर्ने हुन्छ चेक नगराएरै खाएमा जे पनि हुन सक्ने पशु सेवा तथा भेटेनरी कार्यालय हुम्लाका सुचना अधिकारी कृष्न रोकायाले बताए । कुखुरामा कस्तो लक्षण देखिएको हो त्यसको चेकजाँचका लागि स्थानीयले तुरुन्तै सम्वन्धित ठाउँमा जानकारी गर्नु पर्ने हो सुचना अधिकारी रोकायाले भने ।
थाली गाउँमा यसरी कुखुरा मरे भन्ने विषयमा हालसम्म खार्पुनाथ गाउँपालिका पशु सेवा शाखालाई जानकारी नआएको र त्यस्तो समस्या भएमा सो कार्यालयमा पशु धनि आएर औषधि लिएर जाँदा हुन्थ्यो खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाका प्रमुख नरेन्द्र शाहीले बताए ।
गाउँमा विभिन्न रोगले मरेका कुखुराहरु खानुमा अझैँ हुम्ला जिल्ला परिवर्तन नभएको मानिन्छ । मरेका कुखुराहरु खानुमा गाउँमा अशिक्षितका कारण पनि हुन सक्ने स्थानीयको भनाई छ ।