सुर्खेत । ०७६ भदौमा वीरेन्द्रनगरस्थित कटकुवा जंगलमा मृत अवस्थामा फेला परेका गाई ।
जिल्ला अदालत सुर्खेतले गौहत्या मुद्दा प्रकरणमा १० जनालाई कैद सजाय सुनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित १० जनालाई जेल सजाय तोकेको हो ।
०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई–गोरु र बाच्छा–बाच्छी दैलेख लैजाने क्रममा वीरेन्द्रनगरस्थित कटकुवा जंगल र बिउरेनी जंगलमा मरेको अवस्थामा फेलापरेका थिए । सोही विषयलाई लिएर अदातलले बुधबार नगर प्रहरी निरीक्षकसहित १० जनालाई ३ महिनादेखि डेढ वर्षसम्मको जेल सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले मुलुकी अपराध संहिताको दफा २८९ ९२० बमोजिम उनीहरूलाई जेल सजाय सुनाएको हो । नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई डेढ वर्ष, नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष, नगर प्रहरी जवानहरू सुवर्ण तारामी मगर, कमल बयक, चन्द्रबहादुर राना र सुशान्त शाहीलाई ६–६ महिना जेल सजाय तोकिएको छ ।
नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, राकेश भारती, धर्मेन्द्र नेपाली र फायरम्यान कमल थापालाई ३–३ महिना जेल सजाय तोकेको हो ।
नेपालगन्जबाट ट्रकलाई स्कर्टिङ गरेर आएको नगर प्रहरी निरीक्षकको टोलीले दैलेख लगिने भने पनि राति नै सुर्खेतको कटकुवा र बिउरेनी जंगलमा गाई–गोरू छाडेका थिए । छाडिएकामध्ये अधिकांश मरेको अवस्थामा फेला परेका थिए ।
यस्तै, मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने अदालतबाट सफाइ पाएका छन् । गाई–गोरु दैलेख पठाउन ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ, ट्रक चालकहरू हिमबहादुर जिसी, दामोदर केसी, शत्रुघन चौधरी, सागर विश्वकर्मा र सहचालकहरू विवेक कुँवर र कृष्णबहादुर बिसीले सफाइ पाएका छन् ।