सिमकोट । हिमाली जिल्ला हुम्ला सहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समय पछि विहिबार राती देखि हिमपात हुँदा यहाँका किसान खुसि भएका छन् ।
विहिबार विहान देखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै राति देखि हिमपात हुँदा हुम्लामा चिसो बढेको छ । उक्त हिमपातले जिल्लामा तापक्रम माइनसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ ।
यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तीत बनेका कृषक विहिबारबाट हिमपात हुँदा खुसि भएको सर्केगाड गाउँपालिका वडा ६ बराइ गाउँनिवासी मानबहादुर ऐडिले बताए ।
ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् ।
हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो ।