चाँदनी कठायत, राजबहादुर शाही
वीरेन्द्रनगर/मुगु । हुम्लाको सर्केगाड गाउँपालिका–१ स्थित बालकुना बिक्री केन्द्रमा दुई साताअघि कुहिएको चामल भेटियो । मुगुको सोरुकोट हुँदै खच्चडबाट पुर्याइएको चामल हिमाल निर्माण सेवा मुगुका ठेकेदार बिर्ख टमाटाले स्थानीयलाई बिक्री गरेका थिए ।
ढुवानी र वितरणमा लापरबाही गरेको भन्दै माघ २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त कम्पनीलाई शतप्रतिशत हर्जनासहित ३८ हजार ६ सय ४० रुपैयाँ जरिवाना गरेको छ ।
कर्णालीमा हरेक वर्ष खाद्यान्न ढुवानीमा ठेकेदारले लापरबाही गर्ने गरेका छन् । अधिकांशले समयमै ढुवानी गर्दैनन् । ढुवानी भइहाले पनि गुणस्तरहीन चामल बिक्री हुने गरेको सर्केगाड–१ का तुलबहादुर कार्कीले बताए । ‘हरेक वर्ष कुहिएको चामल खान बाध्य छौं,’ उनले भने, ‘दिनभर हिँडेर चामल लिन गयो, घर पुगेर हेर्दा कुहिएको हुन्छ, आफूले खानु कि गाईभैंसीलाई खुवाउनु रु’ कर्णालीका विभिन्न जिल्लामा हवाई र स्थलमार्गबाट खाद्यान्न ढुवानी हुन्छ । सुदूरपश्चिमको बझाङ, बाजुरा हुँदै पनि कर्णालीका हिमाली जिल्लामा लैजाने गरिन्छ ।
डिपोमा कर्मचारी नहुँदा ठेकेदारले महँगोमा खाद्यान्न बिक्री गरिरहेको खार्पुनाथ गाउँपालिका–३ का लालबहादुर बुढाले बताए । ‘अलि सस्तो चामल माथि हेर्दा राम्रै हुन्छ तल सबै बिग्रेको हुन्छ, फिर्ता गर्न समय लाग्ने भएकाले त्यसै खेर फाल्न बाध्य छौं,’ उनले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको श्रीकोट, पुलु र सोरुकोट खाद्य डिपो तथा रातापानी र कालै बिक्री केन्द्रमा चामल वितरणमा ठेकेदारको मनपरी चलेको छ । त्यहाँ कार्यरत कर्मचारीलाई सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयमा बोलाइएको छ । डिपोमा कर्मचारी नभएपछि गत आर्थिक वर्षदेखि ढुवानी गर्ने ठेकेदारलाई नै वितरणको जिम्मा दिइएको हो । ती कार्यालय अहिले सहयोगीको भरमा छन् ।
ठेकेदारले पहुँच भएका व्यक्तिलाई मात्र चामल बिक्री गर्दा विपन्न नागरिक मर्कामा परेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘डिपोमा कर्मचारी छैनन्, ठेकेदारले जथाभावी अनुदानको चामल बिक्री गर्न थाले,’ उनले भने, ‘विपन्न नागरिकले पर्याप्त चामल किन्नै पाएका छैनन् ।’ जथाभावी वितरण गर्दा डिपोमा चामल मौज्दात हुन छोडेको उनले बताए । कम्पनीले ठेकेदारलाई सुर्खेत, नेपालगन्ज र बर्दियाको राजापुरबाट चामल ढुवानीको जिम्मा दिएको छ । डिपोमा पुगेको भोलिपल्टै चामल सकिने गरेको सोरु गाउँपालिका–४ का धर्म नेपालीले बताए । ‘एक दिनमै चामलको बिक्री सकेर ठेकेदार फर्किन्छन्,’ उनले भने, ‘हामीलाई चाहिएका बेला चामल पाउनै मुस्किल भयो ।’
ठेकेदारलाई व्यवस्थित तरिकाले चामल वितरण गर्न आग्रह गरे पनि बेवास्ता भएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘ठेकेदारको मनपरीले एक ठाउँको चामल अर्को गाउँमा बिक्री हुन थालेको छ,’ उनले भने । ठेकेदारले नै चामल बिक्री गर्न थालेपछि सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई जन्म–मृत्यु संस्कारको चामल पाउन मुस्किल भएको उनले बताए । सरकारले जन्म र मृत्यु संस्कारका बेला मुगुका बासिन्दालाई ५ किलो चामल निःशुल्क वितरण गर्दै आएको छ ।
कर्मचारी अभावका कारण ठेकेदारलाई नै चामल बिक्रीको जिम्मा दिइएको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए । उनका अनुसार कम्पनीको मुगु शाखाले हुम्लाको सर्केगाड र श्रीनगर खाद्य डिपोमा पनि चामल ढुवानी गरिरहेको छ । त्यहाँ पनि कर्मचारी नहुँदा ठेकेदारलाई नै बिक्रीको जिम्मा दिइएको उनले जानकारी दिए ।
चामल ढुवानीमा ढिलासुस्ती मात्र होइन, कर्णाली लग्नुपर्ने ढुवानी अनुदानको चामल अन्यत्रै लग्ने गरेको समेत पाइएको छ । मुगुको कालै लग्नुपर्ने २ सय ५० क्विन्टल चामल भक्तपुर लैजाँदै गर्दा सुर्खेत प्रहरीले करिब ३ महिनाअघि सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । चामल ढुवानीमा अनियमितता गर्ने शर्मा ढुवानी सेवाका वासुदेव शर्मासहित उक्त कार्यमा संलग्नमाथि अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कालोबजारी ऐनअन्तर्गत मुद्दा चलिरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेत कार्यालयका प्रबन्धक माधव मिश्र केही स्थानमा लापरबाही भएको खबर आउनासाथ कारबाही प्रक्रिया अगाडि बढाइएको बताउँछन् । खाद्यान्न ढुवानीमा ढिलाइ गर्ने ठेकेदारलाई कारबाहीको चेतावनी दिइएको उनले बताए ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षमा टेन्डर भएको ३८ हजार ९ सय ७७ क्विन्टलमध्ये १८ हजार १ सय ४५ क्विन्टल चामल कर्णालीका विभिन्न जिल्लामा पुगेको छ । सुर्खेतबाट मात्रै ८ करोड १४ लाख रुपैयाँ ढुवानीका लागि निकासा भएको छ । कान्तिपुर