सुर्खेत । कालीकोटका पत्रकार रमेश रावललाई बिना कारण प्रहरीले चारघण्टासम्म यातना दिएकोप्रति पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
सुर्खेतको काँक्रेविहार दैनिक, नयाँपत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल कार्यालयको काम सकेर निवास फर्किने क्रममा मंगलबार वेलुका प्रहरीले बिना कारण नियन्त्रणमा लिई यातना दिएको बिरोधमा महासंघ कर्णाली प्रदेश समितिले बिरोध जनाउँदै आपत्ति जनाएाको हो ।
गोदामलाइनस्थित काँक्रेविहार दैनिकको कार्यालयबाट काम सकेर यरिचौकस्थित निवासमा फर्किने क्रममा मंगलबार राती साढे १० बजेदेखि विहान दुई बजेसम्म यरिचौकमा डिउटी खटिएका प्रहरीले ‘प्रहरी विट’भित्र थुनामा राखी कुटपिट गरेको पीडित रावले बताए ।
‘
“निवास जानेक्रममा मलाई प्रहरीतर्फ बोलाएर गुण्डाशैलीमा थर्काए । म कामबाट फर्किएर घर जान लागेको हुँ भन्दापनि बढि बोल्छस् भन्दै कुटपिट गरे”, पीडित रावलले भने, “खानतलासी गरेर मसँग भएको मोबाइल, पर्स, परिचयपत्र लिई । प्रहरी विटभित्र थुनामा राखियोे ।”
आफुलाई थुनामा राख्नुको कारण सोध्दा–‘रातीमा किन हिडेको तेरो पक्राउ पुर्जी भन्दै नगरप्रहरीको गाडी बोलाइयो।’ ‘हवल्दारको कमाण्डमा आएको टोलीले ममाथी थप कुटपिट गरि गाडिमा बसाल्यो । प्रहरीसँग पत्रकार दिपक अधिकारीले टेलिफोन कुराकानी गरेपछि मलाई त्यही छोडेर गाडी फर्कियो ।’ उनले भने, ‘मेरो मोबाइल र पर्स फिर्ता दियो तर मसँग भएको नगद २० हजार प्रहरीले दिएन ।’
प्रहरीले रातीमा एक्लै हिडिरहेका पत्रकार रावललाई मापसे गरेको भन्दै नियन्त्रणमा लिएको बताएको छ । यद्यपी प्रहरीले मापसे चेकजाँच गरेको प्रमाण भने राखेको छैन जसले गर्दा प्रहरीले बिना कारण नियन्त्रणमा लिई यातना दिएको प्रष्ट हुन्छ ।
वीरेन्द्रनगरमा चोरीका घटना बढ्दै आएकोले रातीमा एक्लै हिडेको देखेपछि सोधपुछ गर्न बोलाईएको तर यातना नदिएको नगर प्रहरी कार्यालयका प्रहरी निरिक्षक नेत्र बुढाले बताए । यद्यपी सोधपुछ गर्न बोलाइएका रावललाई ४ घण्टासम्म आफ्नो नियन्त्रणमा लिनुले थप रहस्यमय देखिएको छ ।
बुधबार महासंघका कर्णाली प्रदेश महासचिव दीपेन्द्र शर्माले विज्ञप्ती जारी गर्दै पत्रिकाको काम सकेर निवासतर्फ जादै गरेका पत्रकार रावलप्रति गरिएको यस प्रकारको दुव्र्यहारको कडा रुपमा बिरोध गरेका छन् । सुर्खेत प्रहरीले रावल माथि गरेको दुरव्यवहारले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने नागरिकको मौलिक हकको हनन भएको महासचिव शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
महासंघले यस्ता प्रकारका घटनाले पत्रकारलाई थप असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथिको धावा बोलेको आफ्नो ठहर रहेको विज्ञप्तीमा भनेको छ ।
‘कुनै पक्षबाट यस्ता उच्छृखल र गैरकानुनी कार्य निन्दनीय भएको भन्दै पत्रकारमाथि गरिएका यस्ता हर्कत बन्द गर्न माग गरेको छ ।
स्वतन्त्र, निर्भयका साथ पत्रकारिता गर्ने वातावरण मिलाउन दोषी उपर कानुनी कारवाहीको लागि सम्बन्धित पक्षसँग माग समेत गरेको छ।