सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सिमकोट विमान स्थल जोखिममा परेको छ ।
विमानस्थल भन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बदेदै भएको हो ।
निर्माणाधिन खेल मैदानको माटो लुकीछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका वासिन्दाले लिने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।
यसमा पहिलेका प्रमूख जिल्ला अधिकारी र प्रहरी नायव निरिक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लागउने र भेटेमा कारबाही गर्ने बारेमा कुरा भएपनि उहाँहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको बताएका लामाले अब सुरक्षा अधिकारीसँगको सल्लाहमा माटो खन्न रोक्ने प्रतिक्रिया दिए ।
‘सिमकोट रिङरोडका लागि खेल मैदानको माथि केही जग्गा खाली राखिएको हो’ अध्यक्ष लामाले नेपालवोटसँग भने, ‘तर लुकिछिपी माटो खनेर लिनेहरुका कारण उक्त जग्गा नैं भत्कीन थालेपछि सिमकोट विमानस्थल नैं जोखिममा परेको हो ।’
विमान स्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनु पर्ने बताएका प्रमुख जिल्ला अधिकारी गाणेश आचार्यले माटो झिक्न काम तत्काल रोक्नु पर्ने बताए । निर्माणाधिन अवस्थामा भएका कारण घरमा लिप्ने प्रयोजनले स्थानीयले माटो लिन थालेको उल्लेख गर्दै सवैको समन्वयले तत्काल माटो झिक्न बन्द गर्नुपर्ने जानकारी दिए ।
झट्ट हेर्दा सामान्य जस्तो देखिएपनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनु पर्छ’ प्रजिअ आचार्यले भने, ‘तत्काल सिमकोट गाउँपालिका, सिमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लाग्छौं ।
सिमकोट खेल मैदानको माथितिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानि विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ नै जाने भएकाले पनि माटो झिकेका भ्वाङहरु भत्कीने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले जानकाएको छ ।
‘खेल मैदानको भिटातर्फको माटो झिकेर विमानस्थललाई जोखिम निम्त्याएको छ’, नाम उल्लेख नगर्न आग्रह गर्दै सिमकोट विमानस्थल स्रोतले भन्यो, ‘हामीले यस सम्बन्धि सरोकारवाला निकायको ध्यानाकर्षण धेरै अघिदेखि गराउँदै आएपनि कसैले नटेरेकाले विमानस्थलमाथिको जोखिम दिनानुदिन बढ्दै गएको छ ।’