सुर्खेत । कर्णाली प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)का चार जना सांसदले प्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार तत्कालका लागि जोगिएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाही मागेको विश्वाशको मतमा बहुमत सांसदले मनदान गरेपछि माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको हो ।
मतदान गर्नेमा मुख्यमन्त्री शाहीको पार्टी नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद रहेका छन् ।
विश्वासको मतको लागि २० सांसद आवश्यक थियो ।
यी हुन, एमालेका फ्लोर क्रस गर्ने चार साँसद
प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका छन् । केन्द्रमा आएको विवादकै बीच यी चार सांसदले पार्टीको ह्विप उल्लंघन गरेका हुन् । उनीहरु चारैजना माधव नेपाल पक्षीय सांसद हुन् ।
एमाले भित्रको विवाद चर्किदै गएपछि केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मै समानान्तर कमिटि गठन गर्दै हिडेका नेता नेपाल पक्षका सांसदले आप्mनै पार्टी विरुद्ध प्रदेशसभामा मतदान गरेको यो पहिलो घटना हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकार र प्रदेश सरकार बिस्थापन गर्न विभिन्न दलहरुबीच एकताको प्रयास भैरहेका बेला कर्णाली प्रदेशमा आज देखिएको एमाले भित्रकै ह्विप उल्लंघनले सत्तारुढ दल एमाले भित्रको आन्तरिक राजनीति थप पेचिलो बन्ने देखिएको छ ।
योसँगै मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ । केही महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भएको स्रोतको भनाइ छ । ह्वीप उल्लंघन गर्ने सांसदहरु दलबाट कारबाहीमा परे पनि केही समय मन्त्री हुने उक्त स्रोतले बतायो ।
एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका थिए । माधव नेपाल समूहका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन गरिएको थियो । शुक्रबार बिहान संसदीय दलका नेता यामलाल कँडेलको घरमा बसेको दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।
राप्रपा टतस्थ
कर्णाली प्रदशेसभामा एक मात्रै सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी भने टतस्थ देखिएको छ ।
राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्णय लिइन् । उनर्ला पर्टी केन्द्रले टतस्थ बस्नु भन्ने निर्देशन दिएपछि आजको मत विभाजनमा उनी तटस्थ बसेकी हुन् ।