काठमाडौं । दोस्रो लहर मानिएको कोरोना सङ्क्रमणको मारमा सबैभन्दा बढि बालबालिका र युवा वर्ग परेका छन् । तर पनि सरकारले विद्यालय बन्द गराउन आनाकानी गरिरहेको छ ।
आफ्ना बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने अभिभावक दोधारमा छन् ।
समूदाय स्तरमै कोरोना फैलिएको आशंका गरिएका ठुला सहरमा विद्यालय निस्फिक्री चलिरहेका छन् । ललितपुर कुपण्डोलका मेनका कार्की कक्षा ७ मा पढ्ने छोराको पढाई र स्वास्थ्यलाई लिएर चिन्तीत छन् ।
विद्यालयमा कोरोना सङ्क्रमण फैलिरहेको समाचार दिनहँु सुन्ने उहाँलाई विद्यालय बन्द नहुँदा पिर परेको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिकामा अहिलेसम्म ३ वटा नीजि र ४ वटा सरकारी गरी ७ वटा विद्यालयमा कोरोना सङक्रमण देखिएको छ । उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने भन्ने प्रस्ताव गरेको छ ।
नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले तर विद्यालयमा सङ्क्रमण फैलिइसक्दा पनि किन स्थानीय सरकार गम्भीर नभएको गुनासो गरे । गत चैत्र २ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले सरकारलाई विद्यालय बन्द नगर्न आग्रह गरेको थियो । प्याब्सनले विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाबाट सबै विद्यार्थीलाई समेट्न नसकिने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।
नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा अथवा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने भनेर सङ्क्रामक नीतिमा उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोनाको जोखिम भएका विद्यालयलाई बन्द गर्न भनिसकेकाले स्थानीय सरकारले यस विषयमा जिम्मेवारी लिनुपर्ने बताए ।
पछिल्लो समय नेपालमा देखिएका कोरोना सङ्क्रमित मध्य अधिकांश कम उमेरका बालबालिका छन्, जो विद्यालय जाने उमेर समूहका छन् । तर पनि सङ्क्रमण फैलिएकै ठाउँहरुमा समेत विद्यालयहरु बन्द नगरिंदा अभिभावक अन्योलतासँगै चिन्ता व्यक्त गरिरहेका छन् ।