काँके । कोरोनाको दोस्रो लहरको चपेटामा परेको बाँकेमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमित थपिने क्रम बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ।
शनिबार बिहान नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत १ संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको हो। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१० का ६१ वर्षीय वृद्ध छन्।
कोरोना संक्रमण भएपछि उनलाई ८ वैशाखमा भेरी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममै आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए।
उनका अनुसार पछिल्लो २४ घन्टामा बाँकेमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको छ। बाँकेको जानकी गाउँपालिका–१ की ७१ वर्षीया वृद्धा, बैजनाथ गाउँपालिका–६ का २८ वर्षीय युवक र सल्यानको वनगाड कुपिन्डे नगरपालिका–३ का ५६ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको थियो।
त्यस्तै, बर्दियाको राजापुर नगरपालिका–९ का ४२ वर्षीय युवक र बैजनाथ गाउँपालिका–२ का ६५ वर्षीय वृद्धको शुक्रबार दिउँसो मृत्यु भएको स्रोतव्यक्ति वलीले बताए।
यसैगरी, भेरी अस्पतालमा उपचाररत बाँकेकै नेपालगन्ज उपमहानगरपालिका–८ त्रिभुवनचोकका ३५ वर्षीय युवकको शुक्रबार राति मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण बाँकेका ७६ जनाले ज्यान गुमाइसकेका छन्।
भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज थप २५० मा जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ।