सिमकोट । हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।
आज (सोमबार) गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १७ जनामा संक्रमण पुष्टि भएपछि कूल संक्रमितको संख्या ७३ पुगेको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
जिल्लाका विभिन्न पालिकामा ५५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १६ जनामा संक्रमण पुष्टि भएको छ’ फडेराले नेपालवोटसँग भने, ‘संक्रमण पुष्टि हुनेमा चंखेली गाउँपालिकाका ८, ताँजकोट गाउँपालिका ८ र सर्केगाड गाउँपालिकामा १ जनाममा संक्रमण पुष्टि भएको हो ।’
यो सँगै जिल्लाभर कूल संक्रमितको संख्या ७२ पुगेको जनस्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । वैशाख १८ गतेदेखि ३९४ जनामा गरिएको परिक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ११ जनाले कोरोना जितेर घर फर्केपछि सक्रिया संक्रमितको संख्या ६२ रहेको बताइएको छ ।
सर्केगाड गाउँपालिकाको उनापानी र रोडिकोटमा आज गरिएको परिक्षणका क्रममा रोडिकोटका १ जनामा संक्रमण पुष्टि भएको सर्केगाड गाउँपालिकाका अहेव ववरजं पालले जानकारी दिए । उनका अनुसार सर्केगाडमा अहिलेसम्म ७४ जनामा गरिएको परिक्षणका क्रममा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ताँजकोट गाउँपालिकामा आइतबार र सोमबार थप ८ जनामा संक्रमण पुष्टि भएको ताँजकोट गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए उनका अनुसार ताँजकोटमा ९८ जनामा गरिएको परिक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
एता जिल्लाको अदानचुली गाउँपालिकामा २० जनामा गरिएको परिक्षणका क्रममा ७ जनामा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।
चंखेलीमा पहिलो दिनमै ८ जनामा संक्रमण
आज (सोमबार) देखि एन्टिजेन परिक्षण शुरु गरेको चंखेली गाउँपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ४ पिप्लाङ र वडा नम्बर ६ मासिधारामा ३ जनामा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए ।
मुगु जिल्लासँगको सिमाना जोडिएको चंखेली गाउँपालिका आफैले खरिद गरेको एन्टिजेन परिक्षण शुरु गरेको पहिलो दिन ४४ जनामा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको अध्यक्ष चौलागाईले बताए ।
गाउँपालिकामा मौशमी प्mलूका बिरामीको संख्या बढेपछि गाउँपालिका आफैले एक हजार एन्टिजेन किट खरिद गरेर आज सोमबारदेखि परिक्षण शुरु गरिएको गाउँपालिकाले जनाएको छ । आज पुष्टि भएका संक्रमित मध्ये केहीमा सामानइ लक्षण देखा परेको गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिए ।
‘चंखेली–४ पिप्लाङमा देखिएका ५ संक्रतिममध्ये केहीमा सामान्य लक्षण देखिएको छ’ अध्यक्ष चौलागाईले भने, बाँकीमा खासै लक्षण देखिएको छैन् तर हामीले सबैलाई स्वास्थ्यकर्मीको प्रत्याक्ष निगरानीमा होम आइसुलेशनमै राख्ने निर्णय गरेका छौं ।’