काठमाडौं । कोरोनाविरुद्धको लडाईंमा नेपाललाई विश्व समुदायले सहयोग गर्नेक्रम बढेको छ ।
छिमेकी देश भारत, चीनबाट आवश्यक पर्ने अर्बौका स्वास्थ्य सामग्री र उपकरण आइसकेका छन् । गत शनिबार स्वीट्जरल्याण्डबाट ९४ करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो । अमेरिकाबाट पनि सयवटा भेन्टिलेटर र १ हजार अक्सिजन सिलिन्डरसहितको ५० करोडभन्दा बढीको सामग्री आइपुगेको छ ।
काठमाडाँमा अक्सिजनसहितका स्वास्थ्य सामग्री आइपुगे भन्दा प्रदेशमा लामो श्वास फेर्न थालेका छन् । ती सामग्री छिट्टै आउलान् र सङ्कटमा बिरामी बचाउन सकिएका भन्ने आशा बढाएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । कोरोना महामारीको पहिलो लहरमा प्रदेश नम्बर २ सबैभन्दा बढी प्रभावित बनेको प्रदेश हो भने दोस्रो चरणको लहरमा पछिल्लो १० दिनदेखि सङ्क्रमितको दर बढ्न थालेको छ ।
संक्रमित बढेसँगै स्वास्थ्य सामग्री प्रदेशमा पुग्न थालेपछि प्रदेश २ मा पनि बिरामी व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको प्रदेश २ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रमोद यादवको भनाई छ ।
नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएपछि विभिन्न अन्तर्राष्ट्रिय समुदायले अक्सिजन सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा सामग्री लगायतको सहयोग पठाउन थालेका छन् । अमेरिका, स्विटजरल्याण्ड, चीन, अष्ट्«ेलिया, लगायतका मुलुकबाट झन्डै २ अर्बभन्दा बढीको स्वास्थ्य उपकरणसहितका सामग्री नेपाल आएको परराष्ट्र मन्त्रालयका सह प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
राजधानी काठमाडौँमा आइरहेका ती सामग्रीले सहज हुने गाउँगाउँका स्वासथ्य संस्थाले पनि अपेक्षा गरेका छन् । कतै सांसद, मन्त्री पहुँचवालाको क्षेत्रमा मात्रै त्यो सामग्री पुग्ला कि भन्ने गाउँको चिन्ता छ । तर त्यसो नहुने दावी स्वास्थ्य सेवा विभाग अन्तर्गतका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाको छ । पछिल्लो समय मुलुकमा सङ्क्रमण दर औसमा ८ हजार पुगेको छ । देशभर सङ्क्रमित थपिने दर बढेसँगै संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या बढ्दै गर्दा सरकारले पारदर्शी रुपमा सामग्री वितरण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।