नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेपछि सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलित भएको बताएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले ज्यानै लिनेगरि भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशंकामा स्वास्थ्यकर्मीहरु सन्त्रासमा रहेको बताए । स्वास्थ्यकर्मीहरु अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् । स्वास्थ्यकर्मीहरुले काम भने नरोकेको बताएका छन् ।
भेरी अस्पतालको सिप्याप भेन्टिलेटरमा उपचाररत गम्भीर अवस्थाका विरामी दाङका ५४ वर्षीय संक्रमितको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् । डा। थापाले ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव गरिरहेको प्रयास सफल हुन नसकेको’ जानकारी दिंदै उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट गरेको बताए । उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए ।
मृत्यु हुने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावत थिए । उनको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४र५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ । मान बहादुर सहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा छोरा भरत र लोकराज रावत पनि छन् ।
मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । ‘आइसियू कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको’ प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।
आफूहरूलाई आक्रमण गरेको विरोधमा स्वास्थकर्मीहरु आन्दोलित भएपछि राती अबेरसम्म चिकित्सक र नर्सहरूले असुरक्षित महसुस गरेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहितका सुरक्षा अधिकारीले घटनाबारे लामो छलफल गरि कारबाहीको प्रतिबद्धता जनाएका थिए ।