मुगु– कोरोना संक्रमणलाई थप फैलन नदिन मुगुमा ३१ जेठसम्म निषेधाज्ञा थपिएको छ ।
पछिल्लो समय कोरोना संक्रमित बढेसँगै जोखिम निम्त्याउने आशंकामामुगु प्रशासनले पुनः ९ दिनसम्म निषेधाज्ञा थपेको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार ३१ जेठसम्म निषेधाज्ञा थपिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मुगुले थप जारी गरेको निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति–सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधी पसल भने सञ्चालन हुनेछन् ।
कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः निषेधाज्ञा थप गर्नुपरेको मुगु प्रशासनले जनाएको छ । पछिल्लो समय मुगुमा दिन प्रतिदिन कोरोना संक्रमण फेला पर्न थालेका छन् ।
अहिले मुगुमा ३ सय ६५ जना कोरानाका संक्रमित फेला परेको जिल्ला अस्पताल ठिनी मुगुका सूचना अधिकारी पशुराम नेपालीले बताए । यीमध्ये १सय ६६ जना निको भई घर फर्केका छन् ।
कोरोनाको फैलावट रोक्न थप ९ दिनसम्म निषेधाज्ञा थपेका हौँ संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले जानकारी दिए ।
खत्याड गाउँपालिकामा शिल
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खत्याड गाउपालिका पनि जेठ मसान्त सम्म शिल गर्ने निर्णय गरेको छ ।
जेठ २१ गते बसेको कोभिड १९ प्रतिकार्य समन्वय समितिका अध्यक्ष तथा गाउपालिका प्रमुख उब्जन बहादुर शाहीको संयोजगत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमण समुदाय स्तर सम्म फैलिरहेको हुदा र खत्याड गाउपालिका पनि अछुतो नरहेकाले गाउपालिका लाई जेष्ठ मसान्त सम्म शिल गर्ने निर्णय भएको खत्याड गाउपालिकाले जनाएको छ । कार्यालय बन्द हुदा सबै सेवा प्रवाहमा समस्या भएको छ ।
समितको निर्णय अनुसार अतिआवश्यक सेवा बाहेक बैंक, खाद्यान्न पसल, होटल । तथा निर्माण सामग्री विक्रि गर्ने पसल विहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्ला राख्ने निर्णय भएको अध्यक्ष उब्जन बहादुर शाहीले जानकारी दिए । उनले भने, 'पालिका भित्रका मुख्य नाकाबाट आवतजावत गर्ने नाकाहरु पुर्ण रुपमा बन्द गरेको, कोभिड १९ को परिक्षणको दायरा तिव्र रुपमा बढाउने र परिक्षण बाट पोजेटिभ देखिएका कोभिड संक्रमितहरु होम आईसोलेसुनमा बस्ने र खुल्ला रुपमा हिडडुल गरेमा नियम अनुसार कार्वाही गर्ने निर्णय भएको खत्याड गाउँपालिकाले जनाएको छ ।'