काठमाडौं । वन्यजन्तु पालन प्रजननको कार्यविधि नबन्दा सर्पले टोक्दा लगाउने ‘एन्टी स्नेक भेनम’ खोप उत्पादनको काम अघि बढ्न सकेको छैन ।
‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि सुनसरी र सर्लाहीमा तयारी भइरहेको भए पनि कार्यविधि नबन्दा समस्या भएको हो ।
विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा मात्रै वर्सेनि २ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विषालु सर्पले टोक्दा लगाउने औषधि अभावमा पनि मानिसहरुको मृत्युदर घट्न सकेको छैन ।
सर्लाहीमा सर्पको विष विरुद्धको औषधि उत्पादन परियोजनाका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ले ७२ करोड रुपैयाँको परियोजनामा गत वर्ष नै हस्ताक्षर गरिसकेको छ । आगामी २ वर्ष मै उत्पादन गर्ने भनिएको भए पनि सम्भव नभएको प्रतिष्ठानका अध्यक्ष रेवती पन्त बताउनुहुन्छ । सरकारी तहबाटै औषधि उत्पादनको लागि पहल सुरु भएको छ तर कार्यविधि नबन्दा काम अगाघि बढ्न नसकेको हो । २०७१ सालमा नै सर्पको विष विरुद्दको औषधि उत्पादन गर्न प्रक्रिया सुरुवात गरेको एन्टी स्नेक भेनम सिरम रिसर्च एण्ड म्यानुफेक्चारिङ प्रालि सुनसरीले हालसम्म उत्पादन सुरु गर्न सकेको छैन ।
नेपालमा व्यक्तिगत वा व्यवसायिक रुपमा बन्यजन्तु पालन र प्रजननको अधिकार नभएको हुँदा प्रक्रिया अगाडि बढ्न नसकेको कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयालले बताउनुभयो । विषालु सर्पले डसेको एकजना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालमा वार्षिक १० लाख भायल सम्म एन्टी भेनम आवश्यक पर्छ ।
नेपालमै सर्पको विष विरुद्धको औषधि बनाउन सरकारको सम्बन्धित विज्ञहरुको सल्लाह र सुझाव अनुरुप नीतिगत सुधार गरी काम सुरु गर्ने तयारी गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।
कार्यविधि तथा मापदण्ड निमार्णको जिम्मा पाएको राष्ट्रिय निकुञ्ज बिभागका निर्देशक तथा सुचना अधिकारी हरिभद्र आचार्यले मापदण्डको मस्यौदा तयार गरिएको भए पनि मन्त्रालयमा भने अझँै नपठाएको बताए ।
जतिसक्दो छिटो मन्त्रालयमा पेस गर्ने तयारी भएको उनले जानकारी दिए । विषालु सर्पले टोकेर प्रत्येक वर्ष नेपालमा झण्डै ३ हजार जनाको मृत्यु हुने गरेको छ । सर्पले टोकेको बिरामीलाई लगाउने खोप अर्थात एन्टी स्नेक भेनम पर्याप्त नहुँदा पनि बिरामी बचाउन सकिदैन । नेपालमै सर्पदंशको औषधि बनाउन सके हजारौँ नागरिकको जीवन रक्षा गर्न सकिन्छ ।