काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको नेपाल प्रज्ञा९प्रतिष्ठानले बताएको छ। प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था भएको बताएको छ।
महाकवि देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई प्रतिष्ठानका नाममा हकभोगमा आएको घर ‘कविकुञ्ज’ र प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूका सन्दर्भमा प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको बताइएको छ। सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने प्रतिष्ठानले जानकारी गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ। प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ। परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुईरतीन ओटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ।’
सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने बताइएको छ। पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन्। दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वानहरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरूरशोधपत्रहरू रहने छन्।
तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार९विमर्श, अन्तर्क्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने प्रतिष्ठानले जनाएको छ। साथै, भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारको सहयोग, महाकवि देवकोटा परिवारको सहमति र प्रतिष्ठानको सक्रिय पहल तथा व्यवस्थापनबाट महाकविको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई चिरस्मरणीय बनाउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण प्रक्रिया अगाडि बढाउन सकिएको प्रतिष्ठानले जानकारी गराएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३०, मैतीदेवीस्थित महाकवि देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रतिष्ठानको हकभोगमा ल्याइएको थियो। उक्त घर९जग्गामा गुठी संस्थानको स्वामित्व यथावत् राख्दै मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट प्रतिष्ठानमा आएको थियो।
देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो। विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटक पटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिनेरनसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो।
‘अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको यथार्थ अनुभव त्यहाँभित्र पसेका प्राज्ञजन, देवकोटा परिवारजन, प्राविधिक इन्जिनियरहरू, सञ्चारकर्मी मित्रहरूलगायत सबैलाई भएकै छ,’ विज्ञप्तिमा उल्लेख छ।