मुगु । सरकारले कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क रुपमा वितरण गर्दे आईरहेको २० किलोग्राम चामल पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।
कार्यक्रम अन्तरगत गएको आ.व. ०७७/७८ मा मात्रै कर्णालीका मुगु, जुम्ला र हुम्लामा एक हजार क्विन्टल चामल वितरण गरिएको छ ।
जसमध्ये मुगुबाट एक सय ७ क्विन्टल २० केजि, जुम्लाबाट ८१ क्विन्टल २० केजि र हुम्लाबाट आठ सय ९४ क्विण्टल चामल गरेर तीन जिल्लाबाट एक हजार ८२ क्विन्टल ४ केजि चामल वितरण गरिएको हो ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्धारा कर्णालीका मुगुबाट जन्मको पाँच सय ८ जना मृत्यु २८ जना गरि जम्मा पाँच सय ३६ जनालाई उक्त चामल वितरण गरेको नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनि लि. मुगुका सूचना अधिकारी पुष्कर भामले जानकारी दिए ।
यस्तै जुम्लामा जन्मको लागि ४ सय ६ र मृत्युको २२ गरि जम्मा ४ सय २८ जना लाई चामल वितरण गरेको र उक्त चामल ढुवानीको लागि १ लाख बढि रकम नगद वितरण गरेको जुम्ला शाखाका प्रमुख तिलक सुनारले बताए । यस्तै हुम्लामा भने जिल्लाका सातवटै स्थानीय तहका चार सय ४७ जनालाई उक्त चामल निःशुल्क वितरण गरेको हो ।
जन्म र मृत्युका अवसारमा प्रत्यक व्यक्ति २० किलोग्रामका दरले वितरण गर्ने सरकारको निर्णय अनुसार कम्पनीले जन्म संस्कारमा ३ सय १९ र मृत्युका १ सय २८ जनालाई उक्त परिणामको चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए । चामल ढुवानी गर्न एक लाख ६८ हजार पाँच सय रुपैयाँ नगद पनि वितरण गरिएको छ ।
जन्म र मुत्युको दर्ता प्रमाण–पत्र, सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्रका आधारमा खाद्य वितरण केन्द्र, जिल्ला शाखा मार्फत उक्त चामल वितरण गर्दै आएको सुचना अधिकारी भामले बताए ।
माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ गते संसदमा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु भएका आफन्तलाई सामाजिक संस्कार गर्न प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त घोषणा फागुन १ गतेदेखि कर्णालीमा कार्यान्वयनमा आएसँगै हरेक आर्थिक वर्ष शाखा बाट वितरण केन्द्रबाट आवश्यक प्रमाण पत्र सहित चामल वितरण गरिदै आइएको छ ।