काठमाडौं । लुम्बिनी प्रदेशको विशेष अधिवेशन एक घण्टाको लागि स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि विपक्षी दलका नेताहरुले आफ्नो कुरा राखेका थिए।
सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलहरुका तर्फबाट बोल्ने समय सकिएको र मुख्यमन्त्रीले जवाफ दिने भन्दै केहिबेरका लागि प्रदेश सभाको बैठक स्थगित गरेका हुन्।
यद्यपि, मुख्यमन्त्री पोखरेलसहित सत्तापक्ष बैठकमा उपस्थित छैनन्। सत्तारुढ दल नेकपा एमालेले बैठक बहिष्कार गरेका छन्।
लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुनु अघि पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए। तर प्रदेशसभामा प्रदेश प्रमुखबाट राजनीमा बारे आधिकारिक पत्र नआएकाले अविश्वासको प्रस्ताव पेश भएको थियो।
प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको बारे आफूलाई फोनमार्फत मात्रै जानकारी आएको बताए। आजको विशेष अधिवेशनमा पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल हुने कार्यसूची थियो। पोखरेलले राजीनामा दिएपनि प्रदेश प्रमुखबाट आधिकारिक पत्र प्रदेशसभामा नआइपुगेकोले पत्र प्राप्त नभएसम्म हाल नियमित कार्यसूचीमा प्रक्रिया अघि बढ्ने उनले बताएका थिए।
पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि आज विशेष अधिवेशन आह्वान भएको थियो। अधिवेशनमा विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्।
८० सदस्य रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको छ। प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ। विपक्षी गठबन्धनमा भने सभामुखबाहेक ४१ जना सांसदको सर्मथन छ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन्।