विधुर ढकाल’/पूजा पन्थी
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई विस्थापित गरेर स्थापित भएका कुलप्रसाद केसी (सोनाम) कुनै समय कांग्रेससँग कडा रुपमा भीडन्तमा उत्रिन्थे। उनै सोनाम कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री बनेका छन्। उनले कुनै बेलाका आफ्ना नेता शंकर पोखरेललाई सत्ताबाट विस्थापित गरेका छन्। यी दुईबीचको सम्बन्ध र राजनीतिक उतारचढाव रोचक छ।
सोनामले ४२ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले उनलाई नियुक्त गरे।
तीन वर्ष पोखरेलका सकेन्ड म्यान
२०७४ सालमा भएको निर्वाचनमा रोल्पा १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सोनाम मुख्यमन्त्री पोखरेल सरकारको प्रमुख सारथीका रुपमा इन्ट्री भएका थिए।
वाम गठबन्धनको संयुक्त घोषणा-पत्रमा चुनावमा होमिएका थिए एमालेका पोखरेल र माओवादी केन्द्रका सोनाम। सोही आधारमा २०७४ फागुनमा गठन भएको पोखरेल नेतृत्वको सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै पार्टीका संसदीय दलका नेता सोनाम आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारीसहित सहभागी भए।
पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश (तत्कालीन ५ नं प्रदेश) का सह–इन्चार्जको जिम्मेवारी पाएका थिए सोनामले । इन्चार्जको जिम्मेवारी मुख्यमन्त्री पोखरेलले नै पाए। संसदीय दलको नेतामा पोखरेलले निरन्तरता पाउँदा सोनाम उपनेता रहे।
सरकारमा रहँदा मुख्यमन्त्री पोखरेलका हरेक कदमलाई साथ दिएका सोनाम पोखरेललाई नै विस्थापित गर्दै मुख्यमन्त्री बने।
गत वर्ष असोजमा लुम्बिनी प्रदेश सभा बैठकमा विपक्षी सांसदसँग भिड्ने मन्त्री हुन् सोनाम। बैठकमा सरकारले एकतर्फी रुपमा दर्ता गराएको प्रदेशको नामाकरण र राजधानीसम्बन्धी प्रस्तावमाथिको छलफलको क्रममा विपक्षी कांग्रेसका सदस्यहरुले विरोध गरे। रोस्ट्रम घेरे।
विपक्षी सदस्यसँग भिड्दै सोनाम (रातो घेरामा)।
पूर्व लडाकु कमिसार सोनाम विपक्षीसँग भिड्दै रोस्ट्रम पुगेर प्रस्ताव प्रस्तुत गरे। प्रस्ताव पारित पनि भयो। त्यसको विरोधमा कांग्रेसका सदस्यहरुले कुर्सी नै तोडफोड गरेका थिए। राजधानी सार्ने विरोधमा बुटवलमा आन्दोलन समेत भयो। गृहजिल्ला दाङलाई राजधानी बनाउने पोखरेलको प्रस्तावको पक्षमा सोनाम खरो रुपमा उत्रिएका थिए।
पार्टीमा विवाद हुँदा पनि पोखरेललाई नै साथ
प्रतिनिधि सभा विघटनको मुद्दामा प्रदेशका नेताहरु पक्ष र विपक्षमा उभिँदा समेत पोखरेल सरकारको साथ छाडेका थिएनन् उनले। विघटनपछि पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै विघटनको पक्षमा उभिइरहे। तर, सोनामसहितका अर्का मन्त्री सुदर्शन बराल विपक्षमा उभिन पुगे। राजनीतिक मुद्दामा मतभेद रहे पनि सरकार सञ्चालनमा सोनामले पोखरेललाई साथ दिइनै रहे।
केन्द्रीय राजनीतिको छायाँ सुर्खेत, हेटौँडा, विराटनगरका सरकारमा देखा पर्यो। त्यहाँ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। तर, पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएन। सोनाम पोखरेलकै पक्षमा रहेर साथ दिइरहे।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा आएपछि सोनाम पुनः माओवादी केन्द्रको संसदीय दलको नेता बने। पार्टी विभाजन भए पनि केही समय सरकारमै रहेर साथ दिए।
२०७८ वैशाखमा सरकारबाट माओवादी फिर्ता भयो। सरकारबाट फिर्ता भएसँगै सोनामकै नेतृत्वमा माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा० र जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए।
पहिलो अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री पोखरेलले राजीनामाको अस्त्रले टारे। दोस्रो प्रस्ताव दर्ता भए पनि छलफलमा आएन। तेस्रो पटकको प्रयासपछि सोनाम मुख्यमन्त्रीको रुपमा लुम्बिनी प्रदेशको बागडोर समाल्न पुगेका छन्।
गिरिजालाई कालो झण्ड देखाउँदा..............
२०२७ साल माघ १० मा रोल्पाको कोटगाउँ २, जिबाङमा सामान्य किसान परिवारमा जन्मेका हुन् सोनाम। बुवा टीकाराम केसी र आमा रजमता केसीका छोरा सोनाम सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए। दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनी विद्यार्थीकालमै राजनीतिमा होमिएका थिए।
२०४३ सालबाट मशालको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी २०४६ देखि २०४७ पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिव भए। केसीले औपचारिक रुपमा पार्टीको सदस्यता भने २०४७ सालमा प्राप्त गरे। त्यसको एक वर्षपछि मशालको एरिया सेक्रेटरीको जिम्मेवारी पाएका थिए।
२०४८ सालमा केसीले स्थायी शिक्षकमा रुपमा स्थानीय विद्यालयमा पढाउन सुरु गरेका थिए। त्यसअघि पनि उनले अस्थायी रुपमा पढाउन थालेका थिए। दिउँसो अध्यापन र राति राजनीतिक काममा खटिन्थे।
२०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिल्ला भ्रमणका क्रममा कालो झण्डा देखाएको अभियोगमा उनलाई राजनीतिक मुद्दा लगाएर शिक्षकबाट हटाइयो। त्यसपछि उनको पूर्णकालीन भूमिगत राजनीतिक जीवन सुरु भयो।
२०५२ सालमा तत्कालीन नेकपा ९माओवादी० ले जनयुद्ध सुरु गर्दा उनी दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा चयन भइसकेका थिए। भूमिगत राजनीतिक गतिविधिकै क्रममा सोनाम र ताराकुमारी घर्तीबीच २०५२ फागुन ११ गते जनवादी विवाह भएको थियो। पार्टीले आयोजना गरेको जनवादी विवाहको कार्यक्रममा वर्षमान पुन र ओनसरी घर्ती तथा रणबहादुर मगर र आशा पुनको पनि विवाह भएको थियो।
तत्कालीन माओवादीको युद्ध अभ्यास स्वरुप पहिलो औपचारिक होलेरी आक्रमण गर्दा उक्त मोर्चामा सोनाम पनि सहभागी थिए। होलेरी आक्रमणमा केसीसँगै वर्षमान पुन अनन्त, ओनसरी घर्ती, ताराकुमारीलगायत सहभागी थिए।
माओवादी आन्दोलनले विस्तारै गति लिन थालेपछि २०५५ सालमा दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरी रहेका उनी २०५६ सालमा भेर-कर्णाली सैन्य कमिसार हुँदै केसी २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए।
२०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा केसी भारतको पटनाबाट गिरफ्तार भएका थिए। अल्सरबाट ग्रस्त रहेकी उनकी पत्नी ताराकुमारी पनि सँगै गिरफ्तार भएकी थिइन्। सोनामले ३ वर्ष ३ महिना र श्रीमती ताराले ३ वर्ष भारतको बक्सर जेलमा कैदी जीवन बिताए।
२०६३ सालमा जेलमुक्त भएपछि सोनाम पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए। साथै, उनले नारायणी-भेरी-कर्णाली-सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले। शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसीएल इन्चार्जको जिम्मेवारी दिएको थियो। २०६९ सालमा एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिएका हुन्।
माओवादी पार्टीको विभाजन भएपछि भने केसी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा-माओवादीमा पुगे रामबहादुर थापा ुबादलु, नेत्रविक्रम चन्द ुविप्लवुसँगै। सो पार्टीको स्थायी समिति सदस्य बनेका सोनाम २०७३ सालमा बादलसँगै पुनः प्रचण्डको साथमा जोडिए। उनी माओवादी केन्द्रको कार्यालय सदस्यमा चयन भए।
प्रदेशको अस्थायी मुकाम बुटवलमा राजनीतिक गर्मागर्मीबीच प्रदेशको मुख्यमन्त्रीको रुपमा शपथ लिँदै गर्दा उनका आमा(बुवा भने रोल्पामै खेती किसानीमा व्यस्त छन्। साभारः पहिलोपोष्ट