काठमाडौं । कोरोना सङक्रमणबाट बच्न गुणस्तरीय मास्कको प्रयोग गनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।
मापदण्ड नै पूरा नगरेका कतिपय मास्कले धुलो समेत नछेक्ने हुँदा मास्क प्रयोगमा ध्यान दिनुपर्ने चिकित्सकको जोड छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतमा सरकारले निजी क्षेत्रलाई मास्क उत्पादन गर्न भनेको थियो ।
त्यसपछि बजारमा विभिन्न प्रकारका मास्क आएका छन् । ललितपुर कुसुन्तीका मँैया लामिछानेले नाकदेखि चिउडोसम्मै छोपिने गरी मास्क लगाउनुहुन्छ । अरु मास्कभन्दा एन ९५ मास्क नै प्रभावकारी भएको हुनाले आफूले सोही मास्क मात्र लगाउने गरेको लामिछानेले बताए ।
कोरोना महामारीअघि धुवाँ र धुलोबाट जोगिन मात्र केही व्यक्तिले मास्क लगाउने गर्थे । तर अहिले छिटपुटबाहेक प्रायः सबैले मास्क अनिवार्य लगाउँछन् । मास्कले धुलोबाट मात्रै होइन, कोरोना सङ्क्रमणबाट पनि बचाउने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिए । उनले बजारमा अनेकौँ मास्क आएको हुनाले गुणस्तरीय मास्क मात्र प्रयोग गर्नुपर्ने बताए ।
उद्योग विभागका अनुसार मास्क मात्रै उत्पादन गर्ने उदेश्यले हालसम्म एउटा मात्रै उद्योग रुपन्देहीमा दर्ता भएको छ । यो उद्योगले वार्षिक ३ करोड एन ९५ र ५ करोड सर्जिकल मास्क उत्पादन गर्छ । मास्कसँगै विभिन्न स्वास्थ्य सामग्री उत्पादन गर्ने अरु तीनवटा उद्योग, विभागमा दर्ता भएका छन् । तर ती उद्योगले कस्ता मास्क उत्पादन गरिरहेका छन्, कुनै निकायले अनुगमन भने गरेको छैन । निश्चित कम्पनीले मात्र नभएर जभाभावी रूपमा उत्पादन भएको हुनाले पनि अनुगमनमा समस्या भएको विभागका महानिर्देशक जीवलाल भुसालले बताए ।
कोरोना सङ्क्रमण बढ्दै जाँदा बजारमा विभिन्न प्रकारमा मास्क आएका छन् । तर त्यसरी बजारमा आएका सबै मास्क लगाउन योग्य नहुने डाक्टर प्रकाश दङ्गालको भनाइ छ । कोरोना अघि दैनिक एक लाख मास्क उत्पादन र खपत हुदै आएकोमा कोरोना महामारी सुरु भएपछि दैनिक १ करोड सम्म उत्पादन र खपत हुदैँ आएको छ ।