काठमाडौं । कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा ५० प्रतिशत विद्यार्थीले पाठ्यक्रममा रहेका विषयवस्तुको न्यून सिकाइसमेत हासिल गर्न नसकेको भेटिएको हो ।
केन्द्रले कक्षा १० को विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयको सिकाइ स्तरको मापन गरेको थियो । यी चार विषयमा औसत सिकाइ स्तर ५० प्रतिशतमात्रै रहेको केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले जानकारी दिए । अध्ययनका क्रममा विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थी कमजोर रहेको पाइएको छ । त्यसपछि क्रमशः अंग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थी कमजोर छन् ।
विज्ञानमा ६३ प्रतिशत विद्यार्थी कक्षा १० को अपेक्षित सिकाइ क्षमताभन्दा तल्लो स्तरमा रहेको पाइएको छ । २० प्रतिशत विद्यार्थीले पाठ्यक्रमअनुसारको सिकाइ हासिल गरेका छन् भने १८ प्रतिशत विद्यार्थी सिकाइ स्तरभन्दा माथिल्लो तहमा रहेको पाइएको छ ।
अंग्रेजीमा ५१, गणितमा ४६ र नेपालीमा ३७ प्रतिशत विद्यार्थीको सिकाइ स्तर ज्यादै कमजोर छ । गणितमा २४, नेपालीमा २३ र अंग्रेजीमा १८ प्रतिशत विद्यार्थीले पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि हासिल गरेका छन् ।
नेपालीमा ३९, गणितमा ३१ र अंग्रेजीमा ३० प्रतिशत विद्यार्थी कक्षा १० को पाठ्यक्रमभन्दा पनि उच्च सिकाइ उपलब्धि प्राप्त गर्ने क्षमताको रहेको केन्द्रले जनाएको छ । कक्षा १० मा प्रत्येक शैक्षिक सत्रमा करिब साढे ४ लाख विद्यार्थी अध्यययन गर्छन् ।
केन्द्रले सन् २०१९ मा कक्षा १० मा अध्ययन गर्ने सातवटै प्रदेशका ४२ हजार विद्यार्थीमाथि उक्त अध्ययन गरेको थियो । यी विद्यार्थी अहिले कक्षा १२ मा अध्ययन गरिरहेको छन् । १ हजार ८ सय विद्यालयका प्रधानाध्यापक र ३ हजार ६ सय शिक्षकमाथि पनि अध्ययन गरेर केन्द्रले सिकाइ उपलब्धिको मापन गरेको हो ।
यसअघि सन् २०११ मा कक्षा १० को सामाजिक विषयसहित यिनै विषयमा केन्द्रले अध्ययन गरेको थियो । उक्त अध्ययनमा विद्यार्थीको औसत सिकाइ ४१ प्रतिशत रहेको पाइएको थियो । महानिर्देशक सापकोटाले शुक्रबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै २०११ को तुलनामा औसत सिकाइ प्रतिशतमा सुधार भए पनि सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।
यी चार विषयमा प्रदेशअनुसार सिकाइ उपलब्धिको मापन गरिएको थियो । त्यसमा प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशको सिकाइ उपलब्धि चारवटै विषयमा राष्ट्रिय औसत ९केन्द्रले ५ सय अंकलाई औसत मानी गरेको अध्ययन० भन्दा पनि न्यून छ । प्रदेश १ को सिकाइ गणित र विज्ञानमा राष्ट्रिय औसतभन्दा कम छ भने नेपाली र अंग्रेजीमा बढी छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशले ४ वटै विषयमा राष्ट्रिय औसतभन्दा बढी सिकाइ उपलब्धि हासिल गरेका छन् । गणित, विज्ञान र अंग्रेजीमा वाग्मती प्रदेश सबैभन्दा अगाडि छ भने नेपालीमा गण्डकी प्रदेशको सिकाइस्तर सबैभन्दा बढी छ ।
५ सय अंकलाई औसत मानेर अध्ययन गर्दा प्रदेश १ मा सिकाइ उपलब्धि गणितमा ४९१, विज्ञानमा ४९१, अंग्रेजीमा ५०० र नेपालीमा ५०५ छ । प्रदेश २ मा गणितमा ४९५, विज्ञानमा ४८४, अंग्रेजीमा ४८२ र नेपालीमा ४७४, वाग्मतीमा गणितमा ५२१, विज्ञानमा ५२५, अंग्रेजीमा ५३४ र नेपालीमा ५११ तथा गण्डकीमा
गणितमा ५१३, विज्ञानमा ५१९, अंग्रेजीमा ५१६ र नेपालीमा ५१६ औसत सिकाइ उपलब्धि छ । त्यसैगरी, लुम्बिनीमा सिकाइ उपलब्धि गणितमा ५०३, विज्ञानमा ५०७, अंग्रेजीमा ५०२ र नेपालीमा ५१३, कर्णालीमा गणितमा ४७६, विज्ञानमा ४८२, अंग्रेजीमा ४७४ र नेपालीमा ४७५ तथा सुदूरपश्चिममा गणितमा ४८८, विज्ञानमा ४८६, अंग्रेजीमा ४८३ र नेपालीमा ४७५ छ ।
केन्द्रले उच्च सिकाइ उपलब्धि हासिल गर्ने, मध्यम सिकाइ र न्यून सिकाइ पनि प्राप्त गर्न नसक्ने ६ वटा तहको ३ खण्ड बनाएर अध्ययन गरेको थियो । विज्ञानमा २० हजार र अन्य विषयमा २२ हजार विद्यार्थीसँग प्रदेशगत रूपमा अध्ययन गरिएको हो ।
सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकको अभाव छ । यिनै विषयमा विद्यार्थीको सिकाइ स्तर खस्किएको पाइएको छ । सामुदायिक विद्यालयमा करिब ५८ हजार शिक्षक अभाव रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक छ । नेपालीबाहेक अन्य तीन विषयमा सामुदायिकभन्दा निजी विद्यालयको सिकाइ स्तर केही राम्रो रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
छात्रछात्राबीचको सिकाइमा गरिएको तुलनामा विज्ञान, गणित र अंग्रेजीमा छात्र र नेपाली विषयमा भने छात्रा अगाडि छन् । शिक्षामा गरिएको लगानी र मिहिनेतअनुसार सिकाइ उपलब्धि प्रतिफल सन्तोषजनक रहेको महानिर्देशक सापकोटाले जनाए । कक्षा १० को पाठ्यक्रमले तोकेभन्दा बढी सिकाइ भएका, पाठ्यक्रमबराबर मात्रै सिकेका र त्योभन्दा पनि तल्लो स्तरको सिकाइ भएका विद्यार्थीबारे अध्ययनमा केलाइएको थियो । अध्ययनले शिक्षामा लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको पाइएको जनाइएको छ ।
शिक्षाविद् विनय कुसियत समग्र शिक्षा प्रणालीमै सुधार नभएसम्म सिकाइको उपलब्धि उल्लेख्य सुधार नहुने बताए । शिक्षण गर्ने विधि नै परम्परावादी हुँदा सिकाइ स्तर माथि उठ्न नसकेको उनले औंल्याए । ‘कक्षाकोठाको पठनपाठनको तौरतरिका परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘विद्यालय, शिक्षक, कक्षाकोठा, पाठ्यक्रमदेखि नै सुधार हुनु आवश्यक छ ।’ शिक्षणमा नयाँ विधि र प्रविधिको प्रयोग गर्नुपर्ने उनले जनाए । शिक्षकलाई क्षमता बनाउन सके सिकाइमा सुधार गर्न सकिने कुसियतको सुझाव छ ।