काठमाडौं । आज जनैपूर्णिमा तथा रक्षा बन्धन । हिन्दु धर्मावलम्बी तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ जनैपूर्णिमा मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । आजै रक्षाबन्धन पनि मनाइन्छ ।
आज हिन्दु धर्मावलम्बीहरुले पूरानो जनैको सट्टा नयाँ जनै फेर्ने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । आजै नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन समेत रहेको छ ।
जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक आजको दिन मन्त्रणा गरिएको जनै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहीआएको छ ।
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म ९सूर्य० बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ ।
तागाधारी जातिले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । नयाँ यज्ञोपवित ९जनै० तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । यस पटक कोरोना महामारीको जोखिम कायमै रहेकाले मेला, महोत्सव जस्ता अधिक जमघट हुने कृयाकलापमा रोक लगाइएको छ भने, स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
यसैबीच, तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । पछिल्लो समय यो चलन मुलुकका पहाडी क्षेत्रमा पनि स्थान पाउँदै आएको छ ।
त्यसैगरी नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गर्दछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । बर्षायाममा खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ । यो पर्वलाई प्रकृतिसंग पनि सम्बन्धित भएकाले गुन्हु पुन्ही पर्वलाई प्रकृति पूजनमा आधारित पर्वका रुपमा पनि लिइन्छ ।