काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)का लागि प्रकाशन भएका ५१ लाख सेट प्रश्नपत्र थन्किएका छन् ।
भौतिक उपस्थिति सहित परीक्षा हुन नसकेपछि तयार पारीएका प्रश्नपत्रहरु थन्किएका हुन् । जसकारण ती प्रश्नपत्र छापिएर पनि विद्यार्थीको हातमा पर्न सकेको छैन ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले भने ती प्रश्नपत्रहरु बोर्डमा सुरक्षित साथ राखिएको जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले प्रश्नपत्रका सम्बन्धमा बोर्डले अहिलेसम्म कुनै निर्णय नगरेको बताए ।
उनले भने, ‘प्रश्नपत्र अहिलेसम्म वितरण गरिएको छैन । हामीले सुरक्षित साथ राखेका छौँ । बोर्डले निर्णय गरेर प्रश्नपत्रहरु सार्वजनिक गरौँ भन्ने निर्णय गरेमा कार्यान्वयन गर्न सकिन्छ । अर्कोपटकलाई प्रश्नपत्र प्रयोग गर्ने गरी अहिलेलाई त्यत्तिकै राखौँ भनेर पनि निर्णय हुनसक्छ ।’
कक्षा १० को पाठ्यक्रम परिवर्तन नभएकाले अर्को पटक प्रयोग गर्ने विकल्पका बारेमा पनि छलफल चलिरहेको छ । यद्यपि बोर्डले निर्णय भने गरेको छैन । एसईईको तयारीमा रहेका विद्यार्थीहरुले भने प्रश्नपत्रहरु आफूलाई वितरण गरे ‘प्रयाक्टिस’ गर्न पाइने बताउँछन् ।
परीक्षा नियन्त्रण कार्यालय (एसईई) का अनुसार एक विद्यार्थीले आठ विषय अध्ययन गर्नुपर्ने हुन्छ । एउटा परीक्षा केन्द्रमा प्रश्न पत्र पठाउँदा ५५ जना विद्यार्थी छन् भने अनुमानित ७५ वटा सम्म प्रश्नपत्र प्याक गरिएको हुन्छ । बोर्डका अनुसार प्रश्नपत्र पठाउँदा विद्यार्थी संख्याको अनुपातमा मिलाएर नपठाई कुल परीक्षा दिने विद्यार्थीमध्ये २० प्रतिशत थपेर प्रश्नपत्रको सेट तयार गरिन्छ ।
बोर्डले गत २३ साउनमा एसईई नतिजा सार्वजनिक गरेको थियो । विद्यालयले गरेको आन्तरीक मुल्यांकनका आधारमा एसईई नतिजा सार्वजनिक भएको हो । सम्वन्धित स्थानिय तहको शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष नतिजा विश्लेषण गरेन ।
यो वर्ष ५ लाख १७ हजार विद्यार्थीले एसईई परीक्षाका लागि फार्म भरेका थिए । कोरोना संक्रमण भएपछि भौतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियो । जसकारण विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गर्दै नतिजा प्रकाशन गरेको थियो ।
प्रश्नपत्र व्यवस्थापनबारे बोर्डले ठोस कदम नचाल्दा भर्खरै भर्ना भएका कक्षा १० का विद्यार्थीहरु अलमलमा छन् । गत वर्ष तयार पारिएका ५० लाख प्रश्नपत्र पनि हालसम्म वितरण गरिएको छैन ।