नवलपरासी । केही दिन यता देखि देशका बिभिन्न स्थानमा जारी बर्षाका कारण ठाउँ ठाउँका नागरिकको जनजीवन प्रभावित भएको छ ।
वर्षाका कारण कतिपय बस्ती डुवानमा परेको छ भने केही स्थानमा पहिरो खसेको छ । बाढी, डुवान र पहिरोका कारण केही व्यक्तिहरुको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षका विनोद पासी र उहाँका छोरा १३ वर्षका प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएका हुन् ।
यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उहाँका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी प्रकाश मल्लले जानकारी दिए ।
बाढीले महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाएको छ, जसले गर्दा गइ रातिदेखि यातायात अवरुद्ध भएको छ । सडक थुनिएपछि पूर्व–पश्चिमतर्फ लागेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका छन् ।लगातारको वर्षा पछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । पहिल्यै देखि जिर्ण अबस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको छ ।
कपिलवस्तुमा पनि गए रातिदेखिको वर्षाले जिल्लाको वाँणगंगा नगरपालिकामा ५० बढी घर डुबानमा परेको छ । वर्षाका कारण अन्य स्थानका राजमार्गहरुमा पनि प्रभाव परेको छ । रेडियो मेलम्चीका अनुसार लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग भने सञ्चालनमा आएको छ ।
मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा आज बिहानदेखि बाटो अवरुद्ध भएको थियो। अपराह्न पहिरा पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घौरासैनीले जानकारी दिए ।