काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।
आज (आइतबार) देखि मौसम विस्तारै खुल्ने महाशाखाले अनुमान गरेपनि मनसुनी न्यूनचापिय रेखा अझैपनि नेपालको तराई भूभाग नजिकै रहेकाले आगामी केहीदिन थप पानी पर्न सक्ने बताइएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखाको प्रभावले अहिले प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।
आज दिउँसो देशको धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । यसैगरी आजराति प्रदेश १, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमविद मानन्धरले पर्सि बिहान मौसम केही खुलेपनि राति फेरि पानी पर्ने भएकाले बाढी, पहिरोको जोखिम निम्तिन सक्ने बताए । उनले आगामी केहिदिन थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैलाई आग्रह समेत गरे । यसैबीच आज नारायणी र यसका सहायक नदी कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बाढी आउँने भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगास्थित बर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेकोले बाणगंगा, गुडुङ लगायतका साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाढीबारेको पूर्व सूचनाबारे नागरिक अनभिज्ञ
सरकारले नागरिकलाई बाढीबारेको जानकारी दिन थालेको पाँच वर्ष बितेपनि प्रभावकारी हुन सकेको छैन ।
नेपालमा वर्षेनी बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा परेर सयौंको ज्यान जान्छ । यो वर्ष नेपालमा मनसुन सुरु भएपछि जेठ ३१ यता मात्रै बाढी पहिरोमा परेर ८५ जनाको मृत्यु भईसकेको छ भने, करोडौंको क्षती भएको छ । त्यही क्षती कम गर्नको लागि सरकारले बाढीको सम्भावित क्षेत्रमा रहेका मोबाइलमा एसएमएस पठाउन थालेको पाँच वर्ष भइसक्यो । तर यसबारेमा अझैपनि थुप्रै नागरिक अनभिज्ञ छन् ।
कतिपयले त्यस्तो एसएम आएकै पत्तो पाउँदैनन् भने कतिपयले थाहा पाएर पनि बेवास्ता गर्छन् । मौसमविद्ले मौसम पूर्वानुमान गर्दा बाढीपहिरोको जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले जोखिममा रहेका जिल्लाका नागरिकलाई मोबाइलमा एसएमएस पठाउने गरेको हाइड्रोलोजिस्ट मौसम भण्डारीले जानकारी दिए ।
महाशाखाले यो वर्ष मनसुन सुरु भएयता झण्डै साढे २ महिनामा ४९ लाख ३८ हजार ३ सय ९१ वटा एसएमएस पठाइसकेको छ । अघिल्लो वर्ष मनसुन अवधीभर १ करोड ३२ लाख ३४ हजार ६ सय ११ वटा एसएमएस पठाईएको थियो । त्यस्तो एसएमएस सेवा प्रदायक निकाय नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा पठाईन्छ ।