काठमाडौं । सन् २०२२ का लागि विश्वका उत्कृष्ट विश्वविद्यालहरुको सूची सार्वजनिक भएको छ।
टाइम्स हाइयर एडुकेशन वर्ल्ड युनिभर्सिटी र्यांकिङ्सले विभिन्न अध्ययनहरुलाई आधार बनाएर जारी गरेको सूची अनुसार बेलायतमा रहेको अक्सफोर्ड विश्वविद्यालय सूचीको पहिलो स्थानमा रहेको छ। अर्थात् विश्वको सर्वोत्कृष्ट विश्वविद्यालयको सूचीमा अक्सफोर्ड पहिलो नम्बरमा छ।
यस वर्ष कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाउने कार्यका कारण लगातार छैटौं वर्ष अक्सफोर्ड सूचीको शीर्ष स्थानमा पर्न सफल भएको हो। अक्सफोर्ड विश्वका ९९ देशका १ हजार ६६२ विश्वविद्यालयमध्ये शीर्ष स्थानमा रहन सफल भएको छ।
विभिन्न १३ सूचकमाथिको अध्ययन र विश्लेषणका आधारमा अध्ययन गरिएको वर्ल्ड युनिभर्सिटी र्यांकिङ्सले जनाएको छ। त्यस्तै अमेरिकाको हारभर्ड विश्वविद्यालयले अमेरिकाकै क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजीसँग दोस्रो स्थानका लागि सहकार्य गरेको छ। विश्वका उत्कृष्ट १० विश्वविद्यालयको सूचीमा अमेरिकाका ८ विश्वविद्यालय रहँदा दुईवटा बेलायती रहेका छन्।
चीनका विश्वविद्यालयहरु पछिल्लो समय सूचीमा तिव्र गतिमा माथि उक्लिरहेकको वर्ल्ड इकोनोमिक्स फोरमले उल्लेख गरेको छ। चिनियाँ दुई विश्व विद्यालयहरु पहिलोपटक उत्कृष्ट २० विश्वविद्यालयमा पर्न सफल भएका छन्।
सिंघुवा र पेकिङ विश्वविद्यालय संयुक्त रुपमा १६ औं स्थानमा रहेका छन्। विश्वका उत्कृष्ट २०० विश्वविद्यालयमा चीनका १० वटा रहेका छन्। हङकङका ४ विश्वविद्यालय पनि उत्कृष्ट १०० भित्र परेका छन्।
चीन र हङकङका विश्वविद्यालयमा आएको सुधारसँगै दक्षिण एसियाली मुलुकहरुले सूचीमा सुधार गरेका छन्। सिंगापुरको राष्ट्रिय विश्वविद्यालय पनि २५ औंबाट २१ औं स्थानमा आएको छ भने जापान र दक्षिण कोरियाको सिओल विश्वविद्यालयको अवस्थामा पनि सुधार आएको छ।
नेपालको त्रिभुवन विश्वविद्यालय १ हजार मध्ये ८०१ औं स्थानमा रहेको छ।