काठमाडौं । आज चार प्रदेशमा भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।
आज राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान वहावको जोखिम, नदीनाला र खहरे खोलामा पानीको सतहसमेत बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
वर्षाका कारण आज महाकाली, कोशी,नारायणी र सहायक नदीहरू सुनकोशी, त्रिशुली, मस्र्याङ्दी लगायतमा पानीको वहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती,पश्चिम राप्तीमा बहाब बढ्ने र सर्तकता तह सम्म पुग्न सक्ने बताइएको छ भने बबई नदीमा बहाव बढ्नुका साथै सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।